Logo

गठबन्धन भए पनि केही नेताका लागि होला, शतप्रतिशत नहोलाः जसपा नेता



काठमाडौं, १८ असार । जनता समाजवादी पार्टी (जसपा) का नेता रकम चेमजोङले शक्ति सन्तुलनका आधारमा सिर्जना भएका पदलाई खलबलाउने काम भए पार्टी नचल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चेमजोङले भने, “उपेन्द्र यादवले शक्ति सन्तुलनका आधारमा अध्यक्ष पाउनुभएको हो । बाबुराम भट्टराई या अशोक राईले पनि त्यसै आधारमा पद पाउनुभएको हो । अब नयाँ विधानका आधारमा महाधिवेशन नहुन्जेल धैर्य गर्न नसक्ने हो भने पार्टी कसरी चल्छ ? पार्टी अध्यक्ष उपेन्द्र यादवले असार २७, २८ मा केन्द्रीय समिति बैठक राख्नुभएको छ । त्यसमा पनि एकलकाँटे निर्णय भयो वा खबरै भएन भन्नु भ्रम हो ।”
उपेन्द्र र बाबुरामबीच राजनीतिकभन्दा पनि कार्यशैलीगत विवाद भएको उनले औंल्याए । चेमजोङले थपे, ‘बाबुरामजीलाई आफूसँग आएका मानिस एकढिक्का राख्नुपर्ने चुनौती छ । उहाँले अर्को पार्टी बनाएर शक्ति आर्जन सक्नुहुन्छ, राष्ट्रिय पार्टी बनाउन सक्नुहुन्न । अर्को पार्टीसँग मर्ज भए बेग्लै कुरा हो । अर्को पार्टी बनाए पनि त्यही नियति दोहोरिन्छ ।”
बाबुरामजस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्व हट्दा पार्टीलाई नाफा नहुने पनि चेमजोङले बताए । उनले भने, “बाबुरामजी भित्तामा होइन, बीच्चमा हुनुहुन्छ । संघीय अध्यक्ष हुनुहुन्छ । मन नपरेको मान्छेको सास गनाउँछ । हाम्रो पार्टीमा विभिन्न दल र संस्कार, समुदाय र क्षेत्रबाट आएका व्यक्रि छौं । मिसन एउटै भएपछि एकै ठाउँ बसेर काम गर्ने हो । म त उपेन्द्र यादव एकलकाटे ढंगले चलेको देख्दिनँ । तर बाबुरामजीजस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्व हट्दा पार्टीलाई नाफा हुन्छ पनि भन्न सक्दिनँ ।”
यादवले वरिष्ठ नेता अशोक राईलाई फकाउन गैरसांसद पत्नीलाई मन्त्री बनाउने बारे आफूलाई थाहा नभएको पनि उनले बताए । चेमजोङले भने, “पार्टीको मन्त्री बदल्ने निर्णय पुरानै हो । त्यसमा भूकम्प नजाला । मन्त्रीबाट हट्दा रोईकराई आलापविलाप पनि नहोला । ककसलाई बदल्ने, त्यो अध्यक्षको कुरा हो । मलाई लाग्छ, गैरसांसद मन्त्री बन्दैन ।”
जसपा नेता चेमजोङले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने पनि बताए । उनले थपे, “आम निर्वाचनमा शतप्रतिशत तालमेल नहोला । भए पनि पाँचसात जना नेताका लागि होला । कांग्रेसको पनि त्यो सोचाइ देखिँदैन ।”



प्रतिक्रिया दिनुहोस्