Logo

संसदीय अभ्यासमा असंसदीय कार्य



काठमाडौं, असार १८ । संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिकाले सरकारको कामकारबाहीलाई सही दिशामा लैजान दबाब बढाउँछ। प्रमुख प्रतिपक्षी दलले निर्वाह गर्ने सकारात्मक भूमिकाले मुलुकमा सुशासन कायम गर्न सघाउँछ। संसदीय कामकारबाही अवरुद्ध धेरै गम्भीर प्रकृतिको विषयमा मात्रै गरिन्छ, सामान्य अवस्थामा आफ्ना भनाइ राखेर विरोध गरिन्छ।

संसदीय व्यवस्थालाई सुन्दर बनाउने काम विपक्षी दलको पनि हो। संसद् बैठक चलिरहेका बेला एकजना सदस्य पनि सिटबाट उठेमा वा प्रमुख विपक्षी दलले सदन बहिष्कार गरेमा सदनको काम अघि बढन सक्दैन। त्यस्तो अवस्थामा तत्काल संसद् केही समयका लागि स्थगित गर्नुपर्ने हुन्छ। तर नेपालको संसदीय अभ्यासमा धेरै असंसदीय कार्य भएका छन्। संसद्मा नाराबाजी हुँदासमेत बैठक सञ्चालन भएको अवस्था छ।

प्रमुख प्रतिपक्षी एमालेले गत भदौदेखि निरन्तर संसद् बैठक अवरुद्ध गर्‍यो। जेठ ३ गते बर्खे अधिवेशन सुरु भएपछि बल्ल उसले त्यो काम छाड्यो। भदौदेखि जेठसम्मका दुई अधिवेशनमा एमालेले सदन अवरुद्ध गर्दा सांसदले आफ्ना धारणा राख्न नपाए पनि संदनले कार्यसूचीका विषयलाई अघि बढायो। विपक्षीको असहयोग र विरोध हुँदा पनि केही विधेयक पारित भए। प्रतिपक्षीको अवरोधबीच चालु आवको बजेट पारित भयो, अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० पनि पारित भयो। पछिल्लो अधिवेशनमा एमालेले फेरि अर्थमन्त्री बहिष्कारको नीति अख्तियार गर्‍यो। अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा सदन बहिष्कार गरेर एमालेले विरोध गर्‍यो।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनमा सहयोग गरेको भन्दै उसले भदौ २३ देखि संसद् अवरोध गरेको थियो। उसले एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई मान्यता नदिने भन्दै सदन अवरोध गरिरहर्‍यो। माग पूरा नभए पनि उसले गत जेठ ३ गतेदेखि सुरु बर्खे अधिवेशनबाट सदन अवरोध नगर्ने नीति लियो। स्थानीय तहको निर्वाचनमा नराम्रो हार व्यहोरेपछि एमालेले सदन खुलाएको विष्लेषण छ। बर्खे अधिवेशनमा पाि अर्थमन्त्रीले बजेटका बारेमा जवाफ दिँदा र विनियोजन विधेयक पारित गर्दा एमालेले सदन बहिष्कार गरेको छ।

नेपालको संसद्मा प्रतिपक्षी दलले खेलेको भूमिका अत्यन्न सुनियोजित र अव्यवहारिक देखिँदै आएको विज्ञहरूको विष्लेषण छ। सरकारले राष्ट्रिय हितभन्दा आर्थिक चलखेलतर्फ नै बढी ध्यान दिएको हुँदा विपक्षी दलले हरेक कुरामा विरोध गर्नुपर्ने अवस्था आएको एमालेका एक नेताले बताए। ‘हामी सरकारमा हुँदा विपक्षीले हामीलाई त्यस्तै गर्छन्, हामी विपक्षमा हुँदा पनि हामीले सरकारलाई त्यस्तै गर्ने हो,’ ती नेताले भने। मुख्यगरी भ्रष्टाचारमुक्त नेपाल नभएसम्म सदनमा विपक्षीको संसद् अवरोध गर्ने शैली एउटै हुने उनले बताए।

जतिबेला प्रतिपक्षी दल सक्रिय बन्छ सरकार सत्ताको दुरूपयोग गर्ने कार्यबाट हतोत्साहित बन्न पुग्छ। ‘प्रतिपक्ष संसद्मा जहिले पनि सरकारको सूचना प्राप्त गरेर तयारी अवस्थामा रहनुपर्दछ, हामीले पनि त्यसै गरेका छौं,’ एमालेका ती नेताले भने। सत्तारुढ दलले सामान्यतया विपक्षीहरूलाई दबाउन र सत्तामा टिकिरहनका लागि राज्यस्रोत प्रयोग गर्न सक्छ। राज्यशक्तिको दुरूपयोग गर्दै जाँदा सरकार अधिनायकवादी बन्ने खतरा पनि उत्पन्न हुने हुँदा प्रतिपक्ष यसमा सजग रहनु पर्दछ भन्ने संसदीय व्यवस्थाको विश्वव्यापी मान्यता छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्