Logo

पार्टीमा एकलौटी भयो, अब चुप लागेर बस्दैनौंः कांग्रेस सहमहामन्त्री



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी विभाजनको कल्पना पनि नगरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले भने, “संस्थापन इतर पक्षको भेला बोलाउनु, छलफल गर्नु हाम्रो रहर नभएर बाध्यता हो । तर पार्टी विभाजनको कदापि कल्पना गरेका छैनौं । अहिले उठाएका कुरा पहिले पनि उठेकै हुन् । पार्टी पदाधिकारी, शीर्ष नेताहरुले सभापतिलाई भेटेर कुरा राख्नुभएकै हो । पार्टी सभापतिले आवश्यक परामर्श गरेर भातृसंगठनको गठन गर्ने भन्यौं । त्यो पनि हुन सकेन । भेला सुरु भएपछि मात्र केन्द्रीय समितिको मिति तय भएको हो ।”
संस्थापन इतर पक्षले भागबन्डा नमागे पनि न्याय मागेको सहमहामन्त्री परियारले बताए । उनले भने, “डा. शेखर कोइराला चौधौं महाधिवेशनको प्रमुख प्रतिस्पर्धी हो । उहाँले ४१ प्रतिशत मत पाउनुभएको छ । त्यसका आधारमा हामी भागबन्डा माग्दैनौं । तर न्याय चाहिन्छ । सभापतिजीले आफूलाई मत नहालेका व्यक्तिलाई कुनै भूमिका दिनुभएको छैन । उहाँ सबैको सभापति बन्न सक्नुभएन । अब हामी चुप लागेर बस्दैनौं ।”
सभापति शेरबहादुर देउवाले सरकार पनि राम्रोसँग चलाउन नसकेको आरोप उनले लगाए । परिवारले थपे, हामीले गठबन्धनको सरकार बनाउँदै गर्दा केही सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थियौं । त्यो पूरा हुन सकेको छैन । सरकारले किसानलाई समयमै मल दिन सकेको छैन, विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन, महँगी बढेको बढ्यै छ । प्रधानमन्त्रीले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीले राम्रो गर्न नसकेको कुरा जनस्तरमा उठेको छ । पटकपटक सरकारमा जाने तर जनताको काम गर्न नसक्ने हो भने त्यसको के अर्थ ?”
पार्टीमा गठबन्धनविरोधी मत जबर्जस्त रहेको पनि सहमहामन्त्री परियारले बताए । उनले भने, “अब गठबन्धनका बारेमा पनि छलफल गर्नुपर्छ । नेपाली कांग्रेसको नीति, सिद्धान्त र विचार बिर्सेर गरिएको गठबन्धनबाट के परिणाम आयो ? पहिले गठबन्धन गरेर जानुपर्छ भन्ने साथीहरुले नै गठबन्धन गलत भयो भनेको अवस्था छ ।”



प्रतिक्रिया दिनुहोस्