Logo

जब पृथ्वीनारायणको शालिक तोडियो… (भिडियोसहित)



हे बीसे नगर्ची !

हे भगवन्तनाथ !

तिम्रा पृथ्वीनारायण शाहको शालिक फोडेर
तिम्रा पृथ्वीनारायणको नेतृत्वमा एकीकृत राष्ट्रमा
नयाँ बाइसे चौबीसे राज्यहरु खडा गरेर
जनजन जोड्ने धर्मसंस्कृतिको धागो चुडालेर
मान्छेसँग मान्छे डराउनुपर्ने बनाइएको छ
नेपालीसँग नेपाली लडाउने अवस्था बनाइएको छ

पृथ्वी भन्थेः आफ्नो देशको कपडा प्रयोग गर्नु
शालिक तोड्नेहरुले स्वदेशी कपडा उद्दोग बन्द गराए
पृथ्वी भन्थेः भारदार र सैनिकहरुलाई धन कमाउन नदिनू
त्यसैले पृथ्वीमाथि चिढिए भ्रष्टहरु

पृथ्वी भन्थेः सबै जातको साझा फूलबारी
जातजाति लडाउनेहरुले पृथ्वीलाई दुश्मन ठाने
अनि घन बजारे शालिकमा
च्याते उनका तस्बिरहरु

पृथ्वी भन्थेः मुलुकमा अन्याय हुन नदिनू
न्याय बजारमा विक्रीमा राख्नेहरुले पृथ्वीलाई सहेनन्
पृथ्वी भन्थेः उब्जनीयोग्य जमिनमा घर हटाएर खेत बनाउनू
जब पृथ्वीको शालिक ढले
मानामुरी फल्ने खेतमा घर फलाउनथाले
उत्पादन बन्द गरेर जताततै विचौलिया हावी भए

पृथ्वी भन्थेः गाउँ हटाएर पनि खानी चलाउनू
यहाँ खानी बन्द गरेर विदेशी खनिज भित्राउने हावी भए

हे बीसे नगर्ची !
यहाँ दलितको नाममा शासन गर्नेहरु
तिमीलाई त के पृथ्वीलाई पनि देखिसहँदैनन्
उनको शालिक सम्म सहँदैनन्

हे भगवन्तनाथ !
यहाँ ज्ञानी र विद्धानहरु बहिष्कृत हुन्छन्
धर्ममाथि प्रहार हुन्छन्
तैपनि मानिसहरु चुपचाप छन्

भाषा र संस्कृति मेटाउन खोजिन्छ
तैपनि, आवाजहरु मन्द छन्
कतै यो आँधी अघिको सन्नाटा त होइन ?
यति भनेर चित्त बुझाउँदा धेरै ढिलो भइसक्छ

पापको घडा भरिन दिएर
मानिसहरु कहिलेसम्म दुःख भोगिरहनेछन्
त्यसैले ए मान्छेहरु हो
बीसे नगर्चीलाई बिर्साउन खोज्नेहरु चिन

हे राष्ट्रलाई माया गर्छु भन्नेहरु हो
गुरु भगवन्तनाथलाई मेटाउन खोज्नेहरुलाई चिन
हे नेपाल आमाका सन्तानहरु हो
इतिहासको गौरवलाई कलंकति देखाउन खोज्नेहरुको भ्रमलाई चिर्नुछ

अब जाग्नुछ
गाउँ टोल अनि वस्तीबाट उठ्नुछ
पृथ्वीको शालिक ढल्दा स्याम्पियन फोड्ने
अनि जनतामाथि गोली दाग्नेहरुको शालिक ठड्याएर
नेपाल र नेपालीको अपमान गर्नेहरुलाई गतिलो जवाफ दिनुछ

धर्ममाथि प्रहार
संस्कृतिमाथि प्रहार
भाषामाथि प्रहार
गौरवशाली इतिहासमाथि प्रहार

प्रहारमाथि प्रहार
एकपछि अर्को प्रहार
हे बीसे नगर्ची !
तिमीले पृथ्वीलाई दिएको एकताको सल्लाह
अब राष्ट्रको रक्षाका लागि लागू गर्नुछ

हे भगवन्तनाथ !
तिमीले पृथ्वीका लागि तयार पारेको रणनीति
अब जनजनबीच एकता भाँड्नेविरुद्ध विद्रोह गर्न लागू हुनुपर्छ

बिगुल फुकिएको छ विद्रोहको
त्यो रोकिनेछैन
बीऊ रोपिएको छ
अतिक्रमणकारीको सांस्कृतिक दासताविरुद्धको

दीयो बलेको छ
सांस्कृतिक मूल्यको रक्षा गर्न
मुक्तिको मार्ग निर्माण गर्न
हे पृथ्वी !
तिमीले बनाएको देशमा
अब तिम्रो शालिक तोड्न दिइनेछैन

हे बीसे नगर्ची !
तिम्रो अपमान हुन दिइनेछैन
हे भगवन्तनाथ !
तिम्रो ज्ञानको उपहास हुनदिइनेछैन

अब हामीलाई अन्याय सहने छूट हुनेछैन
अब हामीलाई कपटसामु निरिह हुने छूट छैन
हामीलाई आपसमा लड्ने छुट छैन
हे पृथ्वी !
तिम्रो लागि होइन
हामी नेपालीलाई हाम्रै लागि एक हुनुछ
अस्तित्वका लागि एक हुनैपर्छ

दीपेश केसी



प्रतिक्रिया दिनुहोस्