Logo

राजेन्द्र पाण्डे र महेश बस्नेतबीचको त्यो भेटले बागमती सरकारमा नयाँ ट्वीस्ट



काठमाडौं, १९ असार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतबीच शुक्रबार साँझ भेटवार्ता भयो । मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब झेलिरहेका पाण्डेले बस्नेतलाई भेटेपछि बागमती प्रदेशको सत्ता संघर्ष नयाँ मोडमा पुगेको छ ।

पाण्डेले बागमती प्रदेशका नेकपा एमालेका प्रदेश सांसदहरुको समेत साथ पाउने अवस्था विकास भएको छ । उनले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटी आफूले कुनै हालतमा मुख्यमन्त्रीबाट राजीनामा नदिने स्पष्ट पारिदिए । त्यसपछि माधव नेपालले पनि शनिबार पाण्डेले अहिले राजीनामा नदिने बताइदिए ।

नेपाली काँग्रेसका बागमती प्रदेशका सभापति समेत रहेका प्रदेश सांसद इन्द्र बानियाँका लागि मुख्यमन्त्री छाड्ने दबाब पाण्डेमाथि थियो । बागमती प्रदेश सरकार बन्दा पाण्डे र बानियाँ आधा आधा अवधि मुख्यमन्त्री बन्ने भद्र सहमति थियो । तर, पाण्डे अहिले आएर बदलिएका छन् । उनले एमालेको साथ लिएर भएपनि सत्ता टिकाउने रणनीति बनाएका छन् ।

पाण्डेको सत्ता टिकाउन बस्नेतसँगको भेट महत्वपूर्ण बनेको छ । बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र हुन् । यी दुई नेतालाई मिलाउन बामदेव गौतमको एकता अभियानकी शोभा पाठकले मध्यस्थताको भूमिका निभाएकी छिन् । शोभा बामदेवको अभियानकी केन्द्रीय सदस्य पनि हुन् । उनी पनि एमाले र नेकपा एस मिलाउन लागिपरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्