Logo

कांग्रेस सहमहामन्त्रीको झटारोः स्थानीय तहमा पहिलो दल भएको हाम्रै साथीहरूले किन नदेखेको ?



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले संस्थापन इतर पक्षले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र पार्टी पहिलो शक्तिका रुपमा स्थापित भएको नदेखेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मन्सुरले भने, “पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको हैसियतले गठबन्धनका सबै पार्टीलाई विश्वासमा लिएर स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएको अनि नेपाली कांग्रेसलाई एकढिक्का बनाएर सबैभन्दा ठूलो दलको रुपमा स्थापित गरेको पार्टीकै साथीहरुले नदेख्नुभएको होला भन्ने मलाई लाग्दैन । आँखा भएका मान्छेले नै नदेखेको अभिनय गर्न खोज्छन् भने के गर्ने ? रुखलाई भित्ता भन्न मिल्छ ? शेरबहादुरजीले अरु दललाई त मिलाउनुभएको छ भने आफ्नो दललाई किन नमिलाउने ? पार्टी नमिलाएको भए कांग्रेस ठूलो पार्टी हुन्थ्यो ?”
पार्टीमा ६ महिनाभित्र गर्नुपर्ने काम नगरेको, मनोनयनमा एकलौटी गरेको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा मन्सुरले भने, पार्टी सभापतिले सबैलाई समेटेर कार्यसम्पादन समिति गठन गर्नुभयो । चारवटा भातृसंस्था गठन भएको छ । सबैलाई मिलाएर पार्टी सञ्चालन गर्नुभएको छ । पार्टीको आवश्यकता अनुसार सभापतिलाई १० प्रतिशत सिट मनोनयन गर्ने वैधानिक व्यवस्था छ । अब चन्द्र भण्डारी, मीनेन्द्र रिजालजीलाई महाधिवेशन प्रतिनिधिले जिताएनन् भन्दैमा शेरबहादुर देउवालाई दण्ड दिन मिल्छ र ? ६०/४० को भागबन्डा दुइटा पार्टी मिल्दाखेरिको विशेष परिस्थितिमा भएको हो ।”
आगामी संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन दलहरु सँगै रहने मन्सुरले बताए । उनले भने, “भोलिको राजनीति कुन दिशामा जान्छ, त्यो अलग कुरा हो । तर एक्लै जित्ने सम्भावना हुँदाहुँदै पनि आफ्नो दायित्व बुझेर पाँच दलीय गठबन्धनलाई विश्वास र सम्मान गरेर कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेको छ । लोकतन्त्रको स्थायित्वका लागि गठबन्धन कायम रहोस् भन्ने हाम्रो चाहना छ । व्यक्तिगत स्वार्थ र अन्तर्राष्ट्रिय खेल त छँदै छन् ।”
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने उनले ठोकुवा गरे । मन्सुरले भने, “कांग्रेस सभापति एवं प्रधानमन्त्रीलगायत शीर्ष नेताहरु निजगढ पुगेर यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लाग्ने सामूहिक रुपमा अठोट र प्रतिबद्धता जाहेर गरेपछि सारा अन्योल समाप्त भएको छ । मुलुकको आर्थिक विकासमा यो एक महत्त्वपूर्ण खुड्किलो हुनेछ । अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ, बन्छ, बन्छ ।”
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लाखौं रोजगारी सिर्जना हुने पनि मन्सुरले बताए । उनले थपे, “काठमाडौंमा बसेर रुखविरुवा कटान हुने वातावरणीय विनाश हुने हौवा खडा गरिएको थियो । त्यो भ्रम चिरिएको छ । काठमाडौं, भैरहवा, पोखरा विमानस्थल ठूला विमानका लागि उपयुक्त नभएकाले निजगढमा डबल रनवेको अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस हो । किनभने यहाँबाट फास्टट्रयाकबाट एक घन्टामा काठमाडौं पुग्न सक्छन् वा ११ मिनेटमा सिमरा एयरपोर्ट पुगी १५ मिनेटमा राजधानी आउन सक्छन् । अहिले खाडीमा गएका लाखौं लाख मानिसले रोजगार पाउँछन् । अन्तर्राष्ट्रिय पर्यटक आएर देश विकास हुन्छ । यो नेपाल र नेपालीको आवश्यकता हो । यसमा कसैको अवरोध स्वीकार्य छैन ।”

 



प्रतिक्रिया दिनुहोस्