Logo

प्रचण्डसँग वार्तामा व्यस्त बाबुराम ओलीसँग चुनावी सहकार्यको तयारीमा, महन्थको पनि साथ



काठमाडौं, १९ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई जसपा फुटाउने तयारीमा जुटेका छन् । अध्यक्ष उपेन्द्र यादवसँगको समझदारीमा नै भट्टराई जसपाबाट अलग हुन लागेका हुन् । पार्टीमा विवाद चुलिएसँगै यादव र भट्टराईबीच पानी बाराबारको अवस्था थियो । यादवले एकलौटी निर्णय गरेको र सामूहिक नेतृत्बाट पार्टी चलाउन नसकेको भन्दै भट्टराई पक्षले दबाब सिर्जना गरेको थियो ।

पछिल्लो समय यादवले बहुमत कार्यकारिणी समितिका सदस्यहरुको बैठक राखेर पार्टीमा आफ्नो एकल हस्ताक्षरमा निर्णय गराउनेबारे निर्णय लिएका थिए । यसले भट्टराईलाई नै सशंकित बनाएको कतिपयको चर्चा छ । जसपाबाट अलग हुनुअघि भट्टराईले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । यो बीचमा उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि थुप्रैपटक भेटवार्ता गरेका छन् ।

यो भेटलाई कतिपयले दाहाल र भट्टराईबीच पूनः सहकार्यको सम्भावनाबारे पनि चर्चा गर्न थालेका छन् । उनीहरु उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्तामा बसेको चर्चा चलेको छ । दाहालसँगको भेटवार्ताकै दौरान भट्टराईले आगामी निर्वाचनमा एमालेसहितको नयाँ मोर्चा बनाउनेगरि पनि छलफल अघि बढाएको पाईएको छ ।

उनले एमाले, आफूहरु र महन्थ ठाकुर नेतृत्वको लोसपाको छुट्टै गठबन्धन बनाउनेबारे प्रस्ताव गरेको बुझिएको छ । एमालेसँगको सहकार्यको लागि लोसपा पनि सकारात्मक रहेको छ । एमालेले पनि चुनावी सहकार्यको लागि सकारात्मक सन्देश दिएको बुझिएको छ । लोसपाका अध्यक्ष ठाकुरले एमाले, लोसपा र बाबुराम पक्ष मिलेर चुनावमा जाँदा राम्रो नतिजा आउने भन्दै यसबारेमा छलफलको माध्यमबाट एउटा निश्कर्षमा पुग्न सकिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्