Logo

उदयपुर हत्याकाण्डका प्रत्यक्षदर्शी मिडियामा, सहयोग गर्न कोही नआएको गुनासो



एजेन्सी, १९ असार । उदयपुरको महाराणा भूपाल (एमबी) अस्पतालमा भर्ना भएका ईश्वरलालले कन्हैलालको हत्या भएको दिन पसलमा के भयो भन्ने कुरा सेयर गरेका छन् ।

टेलर कन्हैयालालको हत्या भएको आज ६ दिन पुगेको छ । तालिवानको यो नरसंहारपछि पूरै सहरमा कर्फ्यू लगाइएको छ । जुन घटनाले सिंगो भारतलाई हल्लायो, त्यही घटनाका प्रत्यक्षदर्शी पहिलो पटक मिडियामा आएका छन् ।

कन्हैयालालको पसलमा काम गर्ने कारीगर ईश्वरलाल अझै एमबि अस्पतालमै छन् । अर्का कारीगर राजकुमार घरमै छन् । वातावरणलाई ध्यानमा राख्दै उनको घरको सुरक्षा बढाइएको छ । हत्या हुँदा दुवै जना पसलमा थिए । हत्याकाण्डपछि दुवै कारीगर पहिलो पटक क्यामेरामा देखा परेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ।

ईश्वरलाल हाल उदयपुरको महाराणा भूपाल (एमबी) अस्पतालमा भर्ना छन् । आक्रमणका बेला उनी कन्हैयालालसँगै थिए । कन्हैयालाललाई बचाउन आएका ईश्वरलालको टाउको र काँधमा अभियुक्तले आक्रमण गरेका थिए । उनीहरु पनि गम्भीर घाइते भएका छन् ।

ईश्वरलाल कन्हैयालालसँग करिब ४ वर्ष काम गरे । असार २८ गते पनि ईश्वर पसलमै थिए । ईश्वरलालले भने, ‘दिउँसो २ः३० बजे गौस र रियाज ग्राहक बनेर पसलमा आएका थिए । म काम गर्दै थिए। कुर्ता–पायजामा नाप्न भने। सेठ जी (कन्हैयालाल) ले सबै काम छोडेर नाप्न थाले। त्यसपछि एकजना अभियुक्तले सेठजीमाथि अचानक आक्रमण गरे । सेठ रुन थाले ।

फर्केर हेर्दा रियाज र गौस दुवैले छुरी प्रहार गरिरहेका थिए । राजकुमार पनि मसँगै थिए । म बचाउन आउँदा उसले मेरो टाउको र काँधमा प्रहार गर्यो। मैले चर्को स्वरले चिच्याएँ तर डरले मलाई बचाउन कोही आएनन।’

राजकुमार कन्हैयालालको पसलमा ८ वर्षदेखि काम गर्छन्। राजकुमारले भने,‘ धम्कीका कारण कन्हैयालाल निकै विचलित भएका थिए । डरले सीसीटीभी जडान गरिएको थियो। त्यो दिन अचानक भएको आक्रमणपछि मेरो परिवार डराएको छ । कन्हैयालालले नाजिमले मुद्दा दर्ता गरेकोमा माफी पनि मागेका थिए । यसपछि एकजना महिला र पुरुष आएर धेरै कुरा भने । कन्हैयालालले हात जोडेर भने – अनजानमा भएको गल्तीको लागि माफी मागेका छौं । सहमति भयो । तपाईको समाजका सदर शकील भाइलाई सोध्नुहुन्छ । त्यसपछि महिला र पुरुषहरू गए।’

राजकुमार र उनकी श्रीमती पुष्पा । दुवैले अहिले घरबाहिर निस्कन पनि डराएको बताएका छन् । राजकुमार भन्छन्,‘नजिकका पसलहरू विरलै खुल्छन् । कन्हैयालाल, ईश्वरलाल र म पसलमा थियौं। अकस्मात भएको आक्रमणले हामी भयभीत भयौं । पहिला म बाहिर निस्केँ । केही बेरमै कन्हैयालाल रगतले लतपतिएको अवस्थामा बाहिर निस्किए । उनको मृत्यु भइसकेको थियो । यसपछि पनि अभियुक्तले उनीमाथि ५–६ पटक निर्मम आक्रमण गरेका थिए । यो देखेर सबै डराए । कसैले अगाडि आउन हिम्मत गरेनन् ।’

राजकुमारले यो हत्यापछि आफ्नो सम्पूर्ण परिवार स्तब्ध भएको बताए । उनले भने, ‘छ महिनापछि छोरीको बिहे हुँदैछ। घटनाको केही दिनअघि कन्हैयालाललाई विवाहको कुरा सुनाउँदा उनले सहयोगको कुरा गरेका थिए । म राति खाना वितरणको काम गर्छु। अब म डराउँछु कि मलाई र मेरो परिवारलाई केहि भयो भने?

मलाई केही भएको छैन, त्यसैले मलाई कसैले सहयोग गरेनन् ।’ अब यति ठूलो मुद्दामा साक्षी बनेर उनले खुलेर काम गर्न पाउने छैनन् । राजकुमारकी श्रीमती पुष्पाले आफ्ना एक छोरा र एक छोरी रहेको बताइन् । उनको परिवार यो दुर्घटनापछि स्तब्ध भएको छ । उनले भनिन्, ‘अब सडकमा हिँड्न पनि डर लाग्छ । केही दिन लाग्यो, तर अब के हुन्छ थाहा छैन। प्रहरीले हामीलाई साक्षी बनाइरहेको छ, तर अहिलेसम्म सहयोग गर्न कोही आएको छैन् ।’



प्रतिक्रिया दिनुहोस्