Logo

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहोर



काठमाडौँ,१९ असार । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।

काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहोर थुपार्न बाध्य भएको बताउछन् ।

फोहोरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहोर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआएका रामचन्द्र श्रेष्ठ बताउछन् ।

राजधानीको अन्य भागमा फोहोर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहोर थुपार्ने गरेको उनले बताए । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

महानगरपालिकाले कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहोर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।रासस



प्रतिक्रिया दिनुहोस्