Logo

रुस-युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडे : प्रचण्ड



काठमाडौं, १९ असार : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुस–युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका बताएका छन् ।काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले राजनीति प्रतिवेदन पेस गर्दै सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडेको बताएका हुन् ।

‘कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण अहिले विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर संकट देखापरेको छ,’ प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका छन । यस युद्धले विश्व शक्ति सन्तुलनमा आउँदै गरेको परिवर्तनलाई संकेत गरेको छ ।’

युरोप र एसिया महादेशको बीचमा रहेको रुसको अवस्थिति, सोभियत संघको विघटनपछि भइरहेको पुनःउदय, चीनसँगको बढ्दो सहकार्य र निकटता, ताइवान, तिब्बत लगायतकाको विषयलाई लिएर चिसिएको चीन–अमेरिका सम्बन्ध, चीन–भारतको अर्थतन्त्र र सामर्थ्यको विस्तार नै वर्तमान अन्तर्राट्रिय राजनीतिका प्रमुख मुद्दा रहेको प्रचण्डको दाबी छ ।

अबको अन्तर्राष्ट्रिय राजनीति यिनै सन्दर्भको वरिपरि घुम्ने बताएका प्रचण्डले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको परिवर्तनको प्रभावलाई नेपालजस्तो विशिष्ट भू–राजनीतिक अवस्थाको देशले कुशलतापूर्वक सामना गर्नुपर्ने चुनौती रहेको बताए ।

कोभिड महामारीको असर र रुस–युक्रेन युद्धले विश्वको आर्थिक तथा आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको उल्लेख गरेका प्रचण्डले नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्र भएका देशहरूमा मात्र नभई विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रसमेतको आर्थिक वृद्धिदरमा कमी आउने देखिएको बताए ।



प्रतिक्रिया दिनुहोस्