Logo

देउवाको कुर्सीमा कम्पन



काठमाडौं, १९ असार । वामदेव गौतम विदेशबाट फर्किएलगत्तै जोस्सिएका छन् । उनी कम्युनिस्टहरुबीच एकता बनाउने अभियानमा सक्रिय भइसकेका छन् । सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एकैदिन भेटे ।

भेटलाई गति दिएका वामदेव आज आफू बीचमा बसेर प्रचण्ड, माधव नेपाल, झलनाथ र नारायणकाजीलाई राख्न पुगे । उनी कुनै हालतमा नेकपा ब्युँताउने अभियानमा छन् । आजको तस्बिर आफैमा सन्देशमूलक छ ।

छिन्नभिन्न भएका कम्युनिस्ट पार्टीहरु मिल्न खोजेपछि सत्ता गठबन्धनमा कम्पन आइसकेको छ । यसले प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा परेका छन् ।

विगतमा पनि देउवाको प्रचण्डसँग सत्ता गठबन्धन बनेको थियो । २०७४ को स्थानीय चुनावमा बनेको गठबन्धन प्रतिनिधि सभा र संघको चुनावसम्म टिकेन । प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हातेमालो गर्न पुगे । काँग्रेसलाई चुनावमा झड्का लाग्यो ।

अहिले ठिक त्यसैगरी, ओली र प्रचण्ड नजिकिन थालेका छन् । वामदेव गौतम दुवैलाई नजिक्याउन मध्यस्थकर्ता भएका छन् । वामपन्थी एकता वा तालमेल सफल भएमा देउवाका लागि २०७४ कै अवस्था दोहोरिन सक्छ ।

हुनत प्रचण्डले बारम्बार सत्ता गठबन्धन चुनावसम्म टिक्ने बताइरहेका छन् । माधव नेपाल पनि यही रटान लगाइरहेका छन् । तर, नेपालसँग एउटै पार्टीमा रहेका झलनाथ खनालको बोली फेरिएको छ । उनी एमालेसँगको एकताको कुरा गरिरहेका छन् । माधव नेपालनिकटस्थहरु पनि ओलीसँग निकटता बढाउन थालेका छन् । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई एमालेले सघाउने ग्रीन सिग्नल दिइसकेको छ । यो वामपन्थी एक ठाउँमा आउने पूर्वतयारी पनि हो ।

प्रचण्ड र माधव नेपालको साथ पाएर प्रधानमन्त्री बनेका देउवाले फेरि ठूलो झड्का खाने अवस्था विकास भएको छ । चुनाव नजिकिदै गर्दा देउवा सरकार विभिन्न विवादमा समेत परेको छ ।

नेपाली भाषा लेखिने देवनागरी लिपी मेट्ने गरी इम्बोस्ड नम्बर प्लेट लागू गर्न खोजिनु, मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु, बाह्य शक्तिको बढ्दो सक्रियतालगायतका विषयले देउवालाई चुनौती बढ्न सक्छ । यही मौकामा कम्युनिस्ट शक्तिहरु मिलेर देउवा नेतृत्वको नेपाली काँग्रेसलाई एक्ल्याउने रणनीति पनि देखिदै गएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्