Logo

प्रदेशरप्रतिनिधि सभा निर्वाचन मिति प्रस्तावको तयारी



काठमाडौं, असार २० । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मितिबारे राय दिने तयारी गरेको हो ।

‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मितिबारे छलफल गर्ने तयारी छ, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिकको मिति उपयुक्त हुने सुझाव दिनेछ,’ आयोग उच्च स्रोतले भन्यो ।

आयोगले देशभरका १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गर्ने भएको हो । आयोगले सरकारका केही मन्त्रीहरूसँग केही दिनयता भएका अनौपचारिक संवादका क्रममा एकै चरणमा निर्वाचन गर्नेगरी सो मितिबारे समेत छलफल गर्दै आएको छ ।

आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले मिति घोषणा हुनुअघिसम्म नाम दर्ता गर्न सकिनेछ ।

७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रसासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम जारी रहेको आयोगले जनाएको छ । यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।

यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत एकैपटक गरिएको थियो । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी २२ मंसिरमा सकिने बताउँदै आएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्