Logo

हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा



काठमाडौं, असार २० । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आजदेखि हेलिकोप्टर (रोटर विङ्स)ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस)अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो ।

आन्तरिकतर्फका हवाई कम्पनीले गत १४ गतेदेखि मोफसलका विमानस्थलमा रात्रि विश्राम गरेर पहिलो उडान सुरु गरिसकेका छन् । आन्तरिकतर्फका १७ वटा विमान (फिक्स विङ्ग)ले रात्रिकालीन बेसअनुरूप उडान सुरु गरेको एक सातापछि हेलिकोप्टर कम्पनीले समेत सोही नियमअनुसार अव तोकिएकै बेसबाट पहिलो उडान सुरु गर्ने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबारदेखि ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टरमध्ये १४ वटा हेलिकोप्टरले रात्रि विश्रामका लागि काठमाडौँबाहिर जानुपर्ने भएको छ । २४ वटा हेलिकोप्टरले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रात्रि विश्रामको सुविधा पाउने उनले बताए ।

उनले भने, ‘हेलिकोप्टरको रात्रि विश्राम जहाजको जस्तो तोकिएकै विमानस्थलमा नहुन सक्छ । हेलिकोप्टरले सिजन र व्यवसायअनुसार उडान भर्नुपर्ने भएकाले सबै कम्पनीका गरेर काठमाडौँमा २४ र काठमाडौँबाहिर १४ वटा हेलिकोप्टर कम्पनीले रात्रि विश्राम गर्नुपर्ने नियम लागू गरिएको छ ।’

नियमअनुसार अव माउन्टेन एयरको एक, एयर डाइनेस्टीको एक, प्रभुका चार, सिम्रिकका दुई र श्री एयरका पाँचवटा हेलिकोप्टरले भने रात्रि बिसानका लागि मोफसलका विमानस्थलमा जानुपर्नेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्