Logo

माओवादी केन्द्र गठबन्धनबाट बाहिरिन सक्छः गणेश साह



काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “स्थानीय तहको निर्वाचनमा गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको व्यवहार देखिएन भन्ने प्रचण्डको मात्र होइन, समग्र पार्टीको विश्लेषण हो । किनभने पार्टीपंक्तिलाई यथार्थ जानकारी गराउनुपर्छ । भुइँतहको रिपोर्टिङ यही हो । प्रदेश इन्चार्जहरुको विश्लेषण कांग्रेसले ठीक व्यवहार गरेन भन्ने नै छ । हिजो पाँच दलीय गठबन्धनमा शक्ति लगाउनुपर्छ भन्ने थियो, त्यो अब सिफ्ट हुने देखिएको छ । हामी गठबन्धनबाट बाहिरिन सक्छौं ।”
संघ र प्रदेश निर्वाचनमा पार्टी स्वतन्त्र रुपमै लड्ने पनि साहले बताए । उनले थपे, “आगामी निर्वाचन गएको निर्वाचनजस्तो होइन, माओवादी केन्द्र स्वतन्त्र रुपमा लड्नुपर्छ भने सातै प्रदेशबाट सुझाव आएको छ । केन्द्रीय सरकार रहिरहन्छ । तर गठबन्धन जोसँग पनि हुन सक्छ । केही सिटका लागि कांग्रेससँग गठबन्धन गर्न सकिन्छ, केही सिटका लागि अन्य दलहरुसँग गर्न सकिन्छ । अब हामी पाँच दलीय घेराबाट अलिकति अलग भएका छौं ।”
नेकपा एमालेबाहेकको वामपन्थी गठबन्धनको सम्भावना रहेको पनि रहेको उनले औंल्याए । साहले भने, “गठबन्धन भनेको ‘गिभ एन्ड टेक’को थ्यौरी हो । एमालेसँग पनि विश्वासको वातावरण रहेन, कांग्रेससँग पनि रहेन । एमालेबाहेकको वामपन्थी गठबन्धन नभएको भने होइन । तर सम्भावना कम हुँदै गएको छ । तर हामीले सकभर बढीभन्दा बढी स्वतन्त्ररुपमै लड्नुपर्छ ।”
जारी केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन हुने सम्भावना रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्