Logo

अन्तर्घातीलाई बदमासी अनुसार कारबाही हुनुपर्छः राजन भट्टराई



काठमाडौं, २० असार । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले स्थानीय तहको निर्वाचनका अन्तर्घातीलाई बदमासी अनुसार कारबाही हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातका विषयमा छानबिन गर्न कार्यदल बनेको छ । कसले कुन तहको बदमासी गरेको छ, त्यस अनुसार कारबाही गर्छौं । त्यसो नगरे पार्टी अनुशासन कायम गर्न सकिँदैन ।”
नेता भट्टराईले अहिलेको स्थितिमा नेकपा एमाले एक्लै निर्वाचनमा जाने पनि बताए । उनले भने, “प्रचण्ड र माधव नेपालले शेरबहादुर देउवालाई बोकेर हिँड्नुभएको छ । नेपाली कांग्रेसलाई हाम्रो पार्टी जोगाइदेऊ भनेर पूजाआजा गर्नुहुन्छ । उहाँहरुसँग कसरी सहकार्य हुन्छ ? उहाँहरु के बोल्नुहुन्छ र के गर्नुहुन्छ ? बोलेर होइन, गरेपछि मात्र भन्न सकिन्छ । अहिलेको स्थितिमा उहाँहरुसँग गठबन्धनको अपेक्षा गर्न सकिँदैन । हामी एक्लै प्रतिस्पर्धा गर्ने तयारीका साथ लागेका छौं ।”
नेकपा एमालेले नचाहे पनि गठबन्धन तोडिने उनले बताए । भट्टराईले भने, “अहिलेको गठबन्धनमा उत्तर-दक्षिण फर्किएका पार्टी छन् । राजनीतिक सोच र विचार भएका पार्टी होइनन् । मूल्य र मान्यताका राजनीति पो टिकाउ हुन्छ । हामीले चाहे पनि नचाहे पनि गठबन्धन तोडिन्छ ।”
उनले नेपालको भूराजनीतिक अवस्थिति बिर्सेर शेरबहादुर देउवाको सरकारले परराष्ट्र नीतिमा विचलन ल्याउन खोजेको आरोप पनि लगाए ।



प्रतिक्रिया दिनुहोस्