Logo

समाजवादी ठूलो भाग खोज्ने, कांग्रेस माओवादी हराउन खोज्नेः माओवादी केन्द्र



काठमाडौं, असार २० । सत्ता गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसमाथि इमानदार र गम्भीर नभएको आरोप लगाएको छ।

माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा कांग्रेसले कतिपय स्थानमा माओवादीलाई हराउन अन्य दलसँग गठबन्धन गरेको आरोप लगाइएको छ।

‘नेपाली कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन। जसको परिणाम रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा र सिन्धुपाल्चोकलगायत जिल्ला र हाम्रो पार्टीको बलियो उपस्थिति रहेका कैयौं स्थानमा हामीविरुद्ध एमालेसहित अन्य दलसँग गठबन्धन गरी हामीलाई पराजित गर्ने वा कमजोर पार्ने घटनाहरू व्यापक रूपमा देखिए,’ प्रतिवेदनमा लेखिएको छ।

माओवादीले स्थानीय निर्वाचनमा कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलको गठबन्धन बन्न नदिने तथा माओवादी र अन्य दल बलियो भएका ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गरेको आरोप लगाएको छ। कांग्रेसले आफू कमजोर भएका ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने र कतिपय स्थानमा गठबन्धनविरुद्ध बागी उम्मेदवार खडा गर्नेजस्ता अघोषित नीति अपनाएको माओवादीको आरोप छ। कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवारलाई मात्र जिताउन खोज्दा धेरै मत बदर भएको माओवादीको दाबी छ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादी ९नेकपा एस० ले पनि आफ्नो हैसियतभन्दा ठूलो भाग खोजेको आरोप लगाइएको छ।।



प्रतिक्रिया दिनुहोस्