Logo

कांग्रेस नेतृको व्यंग्यः “भागबन्डाले विकृति ल्यायो भन्ने अनि आफैं भागबन्डा माग्ने ?”



काठमाडौं, २० असार । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको केन्द्रीय समिति बाहिरबाट समस्याको निकास खोज्न नमिल्ने बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. संग्रौलाले भनिन्, “पार्टी सभापतिले असार २७ मा केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ । त्यसमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी दुई तह निर्वाचनबारे छलफल हुन्छ । भातृसंगठनको पूर्णता दिनेबारेमा पनि ठोस निर्णय लिन्छ । तर पार्टीका केही साथीहरुले बाहिर बाहिर भेला गर्नुभएको सुनेको छु । पार्टीभित्रका समस्याको समाधान बाहिर बसेर हुँदैन ।”
कांग्रेस नेतृ डा. संग्रौलाले ले संस्थापन इतर समूहले ४१ प्रतिशत भागबन्डा खोज्न नहुने पनि बताइन् । उनले भनिन्, “इतर पक्षले ४० प्रतिशत भागबन्डा मागेको मैले सुनेकी छैन । हो भने केन्द्रीय समितिमा उठेपछि नै थाहा होला । उहाँहरुले भागबन्डाले विकृति ल्यायो, जेन्युन कार्यकर्ता पाखा लागेको भनेको होइन ? अहिले भाग माग्न मिल्छ ? तेरोमेरो गर्दा पार्टी २३ सिटमा खुम्चियो । भागबन्डा अहिलको आवश्यकता होइन । कांग्रेसमा यस्ता उतारचढाव भइरहन्छन् । विगतका घटनाबाट हामीले तीतो सत्य सिकिसकेका छौं । यो आन्तरिक लोकतन्त्रको कुरा हो ।”
उनले आगामी निर्वाचनमा पनि गठबन्धन हुने औंल्याइन् । कांग्रेस नेतृले भनिन्, “स्थानीय तहमा गठबन्धनकै कारण नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । गठबन्धन गर्दा पार्टी कसरी कमजोर हुन्छ ? जहाँसम्म प्रचण्डको भनाइको कुार छ, उहाँको कुरा एउटा हुन्छ, काम गराइ अर्को हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्