Logo

कुनैबेलाका अटोरिक्सा ड्राइभर बने महाराष्ट्रका मुख्यमन्त्री



भारतको सबैभन्दा धनी राज्य हो महाराष्ट्र । औद्योगिक शहर मुम्बई र पुणे यही राज्यमा पर्छन् । विश्वको प्रभावशाली चलचित्र उद्दोगमध्येको बलिउड मुम्बईमा नै छ । यसकारण पनि महाराष्ट्रको विशेष महत्व छ ।

मुम्बईमा रातारात सडकबाट महलमा पुग्नेहरुको कथा धेरै बनेका छन् । अवसर र चुनौतीको सहर हो मुम्बई । त्यस्तो सहर छेवैमा जन्मिएका एकनाथ सिन्धे महाराष्ट्रको मुख्यमन्त्री बनेका छन् । उनले आजै विश्वासको मत समेत लिइसके ।

सिन्धे महाराष्ट्रको रैथाने मानिने मराठी समुदायका हुन् । उनले मंगला हाइ स्कुल र जुनियर कलेज थानेबाट ११ कक्षासम्म अध्ययन गरेका छन् । त्यसपछि जीविकोपार्जनका लागि अटोरिक्सा चलाउन थाले । गरिबी र अभावसँग लड्दै अगाडि बढेका सिन्धेले जीवनमा धेरै पीडा भोगेका छन् ।
महाराष्ट्रको गाउँमा जन्मिएर कठिन जीवनको भोगाई सँगालेका छन् । शिवसेनामा लागेर गल्ली गल्लीमा धेरै झडपमा अगाडि सरेको घटनाहरु छन् । निडर र लडाकु स्वभावका भएकाले पनि उनी शिवसेनाका नेताहरुको नजरमा परे । महत्वपूर्ण जिम्मेवारी पाउँदै गए ।

२ जून सन् २००० मा उनको जीवनमा ठूलो विपत् आइलाग्यो । ११ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी सुबधा महाराष्ट्रको गाउँस्थित तालमा डुँगा चढिरहेका थिए । तालको बीचमा डुँगा डुब्यो । उनका छोराछोरी दुवैको निधन भयो । सिन्धे उक्त घटनाले निकै विचलित भए । तर, उनका राजनीतिक गरु आनन्द डिगेले शिवसेनाको महत्वपूर्ण जिम्मेवारी दिएर सम्हालिने अवस्था बनाए । उनका एक छोरा डा. श्रीकान्त सिन्धे लोकसभामा दुईपटक निर्वाचित भइसकेका छन् ।

थानेस्थित शिवसेना प्रमुख आनन्द डिगेले सिन्धेलाई सन् १९८० मा राजनीतिमा ल्याएका थिए । डिगेको सन् २००१ मा निधनपछि सिन्धेले उक्त क्षेत्र सम्हाले । सन् २००४ देखि सन् २०१९ भएका विधानसभा चुनावमा जिते । यसबाट पनि सिन्धेको प्रभाव बुझ्न सकिन्छ । उनी शिवसेनाका दिवंगत नेता बाल ठाकरेका विश्वासपात्र भइरहे ।

महाराष्ट्रमा सरकार बनाएको शिवसेनासहित महा विकास अगाडि समूह फुटाउन सिन्धेले नेतृत्व गरे । शिवसेना प्रमुख समेत रहेका निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेलाई महा विकास अगाडि फुटाउन दबाब दिए । तर, ठाकरे मानेनन् । त्यसपछि उनले विद्रोह गरे । सिन्धेको विद्रोहपछि ठाकरेले मुख्यमन्त्रीबाट राजीनामा दिए । भारतीय जनता पार्टीको समर्थन पाएर सिन्धे मुख्यमन्त्री बने ।

कुनैबेला मुम्बईमा अटोरिक्सा चलाउने सिन्धे भारतको सबैभन्दा धनी राज्य महाराष्ट्रको मुख्यमन्त्री बन्न सफल भए ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्