Logo

मध्यराति सिंहदरबारमा कोही छिर्न सक्छ



काठमाडौं, २२ असार । यतिबेला अर्थमन्त्री जर्नादन शर्माले असम्बन्धित व्यक्तिलाई छिराएर करको दर हेरफेर गराएको आरोप खेपिरहेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मध्यराततिर दुई असम्बन्धित व्यक्ति छिरेको भनिएको छ । तर, दिउँसै विना पास र कडा सुरक्षा जाँच पछि मात्र छिर्न सकिने सिंहदरबारमा कसरी असम्बन्धित व्यक्तिहरु छिरे ।

अर्थ मन्त्रालयले १४ जेठ २०७९ देखि १५ जेठ २०७९ को विहानसम्मको फुटेज नरहेको जवाफ दिएको छ । सोही राति अर्थ मन्त्रालयमा मानिस छिरेको हल्ला चलिरहेको छ । त्यसो हो भने गृह मन्त्रालयले सुरक्षाजाँच गर्ने मूलढोकामा रेकर्ड या फुटेज हुनुपर्छ । त्यो किन खोजिएन ? यो विषय उठेको छ ।

अर्थ मन्त्रालयमा जो जो छिरेको भनिएको छ उनीहरु छिरेको हो भने सिंहदरबारको कुनै गेटबाट प्रवेश गरेको हुनुपर्छ । पर्खाल चढेर छिर्ने अवस्था छैन । सिंहदरबारमा दक्षिणी गेट काम विशेषले जाने सर्वसाधारणका लागि प्रयोगमा ल्याइएको छ । पूर्वी गेट कार्यालय समयमा कर्मचारीका लागि खोलिने गरिएको छ । पश्चिमी गेट भीआइपीहरुका लागि प्रवेश छूट छ । यी गेटहरु निश्चित समयसम्म खुल्छन् । सिंहदरबारमा मध्यराति सबै ढोका बन्द हुन्छन् । मध्यराति बाहिरी व्यक्तिहरुका लागि गेट खुल्ने अवस्था रहँदैन । खुलेको हो भने गृहमा त्यसको प्रमाण हुन्छ ।

संहदरबारमा सेना र प्रहरी र राष्ट्रिय अनुसन्धानको सुरक्षा घेरा छ । प्रहरीले मूलढोकाहरुमा विशेष सुरक्षा र निगरानी गर्छ । को गयो र को आयो भन्ने प्रहरीले रेकर्डमा राख्छ । प्रहरी गृह मन्त्रालय अन्तर्गतको निकाय हो ।

सर्वसाधारण दिउँसो छिर्न पनि पास चाहिन्छ । कडा सुरक्षा चेकजाँच, रेकर्ड राखेर मात्र प्रवेश दिइन्छ । तर, सिंहदरबारस्थित संवेदनशील ठाउँमा मध्यराति विना पास छिर्न अनुमति पाउने अवस्था छैन । यो गम्भीर प्रश्न बनेको छ । यति कोही छिरेको हो भने सिंहदरबारको मूलढोकामा चेकजाँच र सुरक्षामा खटिएको निकायले विना पास किन प्रवेश दियो ? त्यसको जिम्मेवारी गृह पनि हो । गृह मन्त्रालयको जिम्मेवारी बालकृष्ण खाँणले सम्हालेका छन् । असम्बन्धित व्यक्ति छिरेको हो भने त्यसको जिम्मेवारी मन्त्री खाँणले पनि लिनुपर्ने हुन्छ ।

अहिले जर्नादन शर्माको राजीनामा माग्नुमा सिंहदरबारभित्र मध्यराति करको दर हेरफेरका लागि मान्छे छिराएको भन्नेमा छ । सिंहदरबारभित्र कोही छिर्छ भने त्यसको जिम्मेवार निकाय गृह मन्त्रालय हो र पहिलो जिम्मेवारी मन्त्री खाँणले नै लिनुपर्छ भन्ने विषय उठेको छ ।

यसैगरी, शर्माको राजीनामालाई माओवादीभित्रको अन्र्तद्वन्द्वसँग जोडेर हेरिएको छ । महासचिवको लडाईंमा जर्नादन शर्मा र वर्षमान पुन देखिएका छन् । शर्मालाई असफल बनाउन माओवादीको एउटा तप्का नै लागेको छ । यसले पनि सिंहदरबारभित्र मध्यराति मान्छे छिरेको विषय उठाइएको छ । तर, को पस्यो भन्ने प्रमाण अहिले सम्म कतै छैन । सम्बन्धित गृह मन्त्रालयले पनि केही देखाउन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्