Logo

सीसीटीभी फुटेज मेटाउनु अर्थमन्त्रीको अर्को अपराध होः लक्ष्मणलाल कर्ण



काठमाडौं, २२ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले बजेट निर्माणमा चलखेल गर्नु र सीसीटीभी फुटेज मेटाउनु ठूलो अपराध भएकाले अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “अर्थमन्त्रीलाई हटाउनुपर्छ भन्ने कुरा बिलकुल ठिक हो । राज्य विश्वासमा चल्छ । नीति र कानुनका आधारमा चल्छ । बाहिरिया मानिस गएर करको दर परिवर्तन गरेको सम्बन्धमा संसदमा छानबिन मागिरहेको अवस्थामा सीसीटीभी फुटेज मेटिन्छ भने त्यसमा ठूलो अपराध भएको देखिन्छ ।
सीसीटीभी फुटेज मेट्नेलाई कानुन बमोजिम कारबाही गर्न सकिने पनि कर्णले औंल्याए । उनले भने, कानुनअनुसार सीसीटीभी फुटेज तीन महिनासम्म राख्नुपर्छ । जनताले जान्न चाहिरहेको कुरा किन यति चाँडै किन हटाएको ? त्यसले त्यसले जनताको विश्वासलाई आघात पुर्याउँछ ।”
जनता समाजवादी पार्टी (जसपा) र लोसपाबीच एकता सम्भव छ भन्ने पत्रकार धमलाको प्रश्नमा कर्णले भने, “जसपा र लोसपा दुवै राजनीतिक दल एउटै धरातलमा छन् । दुईबीच मिलन गरेर विछोड भएको हो । अझै पनि सम्बन्ध सुध्रिएको छैन, संवाद भएको छैन । तर विभाजनको पीडा पनि छ । मधेसमा अहिले जनतासँग जोडिएको पार्र्टी लोसपामात्र हो ।”
अर्को प्रसंगमा उनले लोसपाकै सहमतिमा नागरिकता विधेयक संसदबाट फिर्ता भएको पनि बताए । कर्णले थपे, “अहिले देशमा ५-६ लाख जनता नागरिकताविहीन छन् । राज्यविहीन छन् । सरकारले हाम्रै सहमतिमा नागरिकता विधेयक फिर्ता लगेको हो । अर्को विधेयक ल्याएर पास गर्ने सरकारको योजना छ । त्यसमा हाम्रो समर्थन छ ।”



प्रतिक्रिया दिनुहोस्