Logo

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने



काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो ।

‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा बस्ने सदस्यको नामावली तयारी हुँदैछ ।

सहमति अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ जना गरी ११ सदस्सीय छानबिन समिति बनाउन लागिएको हो । ‘समिति बनाउनु भनेको राजीनामा सरह हो,’ एमाले सांसद योगेश भट्टराईले भने । उनका अनुसार छानबिन समिति बनाएर अर्थमन्त्री शर्माले गरेको काम कारबाहीमाथि सांसदहरूले अनुसन्धान गर्नेछन् ।

Updated:

छानबिन समितिमा नेकपा (एमाले) बाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक छन् । यस्तै, नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो रहेका छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट देव गुरुङ र शक्ति बस्नेत सदस्य छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट सरला यादव र जनता समाजवादी पार्टीबाट डा. सुरेन्द्र यादव सदस्य छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका लक्ष्मणलाल कर्ण सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot