Logo

‘एमसिसी पास गराएको जस लिँदै प्रधानमन्त्री बन्नको लागि शक्ति केन्द्र धाउँदै गगन थापा’



काठमाडौं, २३ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा आफू प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा प्रस्तुत हुने घोषणा गरेका छन् । पार्टीभित्र युवा पुस्ता नेतृत्वमा आउनुपर्छ भन्दै बहस गर्दै आएका थापा यतिवेला महामन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारीमा छन् । तर, उनले पदमा पुग्नुभन्दा अघि गर्ने चर्को कुरा र अहिले पदमा बसेपछि गरेको कामबाट कांग्रेसको ठूलो पँक्ति असन्तुष्ट छ ।

कतिपयले त थापालाई सस्तो लोकप्रियताको लागि जे पनि बोल्ने नेताको रुपमा चित्रण गर्न थालेका छन् । थापालाई कांग्रेसमा अवसरवादी नेताको रुपमा पनि चिनिन्छ । उनी लामो समयसम्म कृष्ण सिटौला गुटमा बसे । सिटौलाले नै उनलाई मन्त्री बनाए । पछि उनले सिटौलाको साथ छोडे । सिटौलाको साथ छोडेका थापाले त्यसताका प्रकाशमान सिंहसँग पनि छुट्टै साँठगाँठ गरे । तर, महामन्त्री बन्नको लागि उनले सिंहको पनि साथ छोडेर शेखर कोइराला समूहमा उभिए ।

सिटौला हुँदै सिंहसम्म र त्यहाँबाट कोइराला समूहसम्म पुग्नु नै थापाको महामन्त्री जसरीपनि हुने अभिलाषा थियो भन्ने चर्चा यथावत छ । पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दापनि अहिलेसम्म विभागहरु गठन गर्न सकेको छैन् । नेता तथा कार्यकर्ताहरुको तहबाट राम्रोसँग पार्टीको बैठकसमेत नचलेको गुनासो छ । थापा भने आगामी संघीय संसद्को निर्वाचनलाई केन्द्रित गरेर आफूलाई सक्रिय बनाउन व्यस्त छन् ।

उनले आफू यसपटकको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा नै प्रस्तुत हुने घोषणा गरिसकेका छन् । कांग्रेसका धेरै प्रभावशाली नेताहरुले नै थापाको घोषणामाथि प्रश्न उठाएका छन् । उनीहरुले प्रधानमन्त्री कसलाई बनाउने भनेर पार्टी निर्वाचनमा नजाने दाबी गरेका छन् । कतिपय नेताहरुले भने थापा अमेरिकी सहयोग सम्झौता एमसिसी पारित गराएपछि हौसिएको र प्रधानमन्त्री बन्ने महत्वकांक्षा पालेको हुनसक्ने टिप्पणी गरेका छन् ।

स्रोतकाअनुसार थापाले यतिवेला आफूलाई भावी प्रधानमन्त्रीको उममेद्धवार बन्नेगरि पार्टीभित्र लविङ थालेका छन् । उनीमाथि सुरुदेखि नै अमेरिकासँग नजिक रहेर काम गरेको भन्ने आरोप छ । अहिले उनी पाँच महिनापछि हुने संघीय संसद्को निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको उम्मेद्धवार बनाउनेगरि तयारीमा लागेका छन् । उनी प्रधानमन्त्रीको उम्मेद्धवार बने आफ्नो पनि समर्थन रहने अर्का महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ । file photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot