Logo

प्रचण्डसामु माओवादीलाई ठूलो दुर्घटनाबाट जोगाउने चुनौती



काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्र दुर्घटनाको संघारमा पुगेको । अध्यक्ष प्रचण्डले लिने निर्णयले माओवादीको भविष्य निर्धारण गर्ने अवस्था बनेको छ । विशेषगरी माओवादीको महत्वपूर्ण जिम्मेवारी बाँडफाँड र सत्ता गठबन्धन बढाउने विषयले उसको भविष्य निर्धारण गर्ने देखिएको हो ।

माओवादीभित्र अहिले प्रचण्ड पछि दुई नेता शक्तिशाली देखिएक छन् । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुन दुवै सांगठनिक र बाह्य सम्बन्धका दृष्टिले बलियो देखिएका हुन् । शर्माको पार्टी कमिटीमा बलियो पकड छ । पुनको पनि त्यस्तै पकड छ । दुवै महासचिवका दाबेदार हुन् ।

प्रचण्डले पुन र शर्मामध्ये जसलाई महासचिव दिएपनि नयाँ चुनौती थपिने अवस्था आउन सक्छ । प्रचण्डका लागि तेस्रो पात्रको चयन हुनसक्छ । जसमा शक्तिबहादुर बस्नेत हुनसक्छन् । तर, त्यसो भएमा पुन र शर्मा दुवै मिल्न सक्छन् जसले प्रचण्डलाई नयाँ चुनौती बन्न सक्छ ।

अर्कोतर्फ, माओवादीभित्र वामपन्थी एकताको दबाब बढेको छ । प्रचण्डलाई यो थेग्न कठिन छ । वर्षमान पुन वामपन्थी एकतामा जोड दिइरहेका छन् । जर्नादन शर्मा पनि विगतमा नेकपा निर्माणमा मुख्य भूमिका खेल्नेमध्येका थिए । अहिले अर्थमन्त्रीबाट हटाइएपछि उनको ध्यान पनि त्यतैतर्फ जान थालेको बुझिएको छ ।

प्रचण्डलाई नारायणकाजी श्रेष्ठलाई रिझाउने चुनौती पनि छ । उनी सरकारमा जान चाहन्छन् । तर, गोरखाबाट चुनाव हारेकाले श्रेष्ठलाई मुश्किल छ । श्रेष्ठ पनि वामपन्थी एकतामा दौडिइरहेका छन् । उनलाई व्यवस्थापन नगरे माओवादीभित्र पूर्व एकताकेन्द्रका नेताहरुबाट विद्रोह हुनसक्छ । यसकारण पनि प्रचण्ड गम्भीर बनेका छन् ।

कठिन परिस्थितिबीच प्रचण्डले कठोर निर्णय लिनसक्ने सम्भावना पनि छ । उनले चाल्ने कदमले माओवादीलाई फेरि फुटको अवस्थामा पनि लानसक्छ । हुनत प्रचण्डले समाजवादी केन्द्र निर्माणमा जोड दिइरहेका छन् । बाबुराम भट्टराई देखि विप्लवसम्मलाई मिलाएर लाने प्रयास थालेका छन् । त्यो कदमले पनि नयाँ तरङ्ग आउनसक्छ । जुनसुकै कदम चालेपनि प्रचण्डलाई यतिबेला माओवादीको संकटमोचन सजिलो छैन । तर, उनी कठोर कदम चाल्न खप्पिस भएकाले चाल्न पनि सक्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot