Logo

देउवासँग ६०/४० को भागबण्डा माग्न शेखरलाई गगनको प्रस्ताव



काठमाडौं, २४ असार । नेपाली कांग्रेसभित्र भागबण्डाको राजनीति सुरु भएको छ । १४औं महाधिवेशनमा भागबण्डाको अन्त्यको लागि चर्को नारा लिएर नेतृत्वको लागि प्रतिष्पर्धामा उत्रिएको शेखर कोइराला समूह महाधिवेशन भएको ६ महिना बित्न नपाउँदै भागबण्डाको राजनीतिमा सक्रिय भएको छ । यो समूहका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच आज अब कसरी अघि बढ्ने भन्ने विषयमा लामो छलफल भएको बुझिएको छ ।

पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूह आक्रोशित बनेको बेलामा कोइराला र थापाबीच भेटवार्ता भएको हो । यसअघि कोइराला समूहले छुट्टै भेलासमेत गरेको थियो । सो भेलामा नै नेताहरुले सभापति देउवासँग अब भागबण्डा मागेर नै अघि बढ्नुपर्ने आवाज उठाएका थिए । आज भएको दुई नेताबीचको भेटवार्तामा पनि यो विषय उठेको छ । एक नेताकाअनुसार थापाले देउवासँग ४० प्रतिशतको भाग मागेर अघि बढ्नुर्ने र सोहीअनुसार प्रस्तुत हुन कोइरालालाई आग्रह गरेका छन् । आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्नेमा पनि थापाले जोड दिएका छन् ।

उनले सिट बाँडफाँडमा पनि देउवासँग ४० प्रतिशत मागेर नै जानुपर्ने धारणा राखेको एक नेताले जनाए । विगतमा देउवाले पनि गिरिजाप्रसाद कोइराला नेतृत्वमा हुँदा ६०/४० को राजनीति गरेको भन्दै आफूहरुले पनि अब सोही अभ्यास गर्नुपर्नेमा दुई नेता सहमत भएका छन् । महाधिवेशन भएको ६ महिनाभित्र गर्नुपर्ने कतिपय कामसमेत सभापतिले चासोका साथ नगरेको कोइराला समूहको आरोप छ । यो समूहले सभापति देउवाले आफूहरुको धैर्यतालाई कमजोरीको रुपमा लिएकोले अब त्यसको परिणाम भोग्न तयार हुनुपर्ने चेतावनीसमेत दिएको छ । file photo/ReportersNepal-Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot