Logo

राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता होः एमाले सचिव



काठमाडौं, २५ असार । नेकपा एमालेकी सचिव पद्मा अर्यालले बदनियत राखेर सरकारले नागरिकता विधेयक फिर्ता गरेको आरोप लगाएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन्, “नयाँ ल्याइने नागरिकता विधेयकमा केही बद्नियत छन् । यसले नेकपा एमालेले चिन्ता बढाएको छ । सरकारको ध्यान गठबन्धन कसरी टिकाउने भन्ने मात्र छ । त्यसका लागि जुनसुकै सम्झौता गर्न सक्छन् । नागरिकता राष्ट्रियतासित जोडिएको विषय हो । यसमा कुनै किसिमका कानुनी छिद्र हुनुभएन । त्यसले राष्ट्रियता खतरामा पर्छ । भोलि पछुताउनुपर्ने परिस्थिति नआओस् भनेर हामीले सरकारलाई घचघच्याएका हौं । नयाँ ल्याउँदा छिटो हुन्छ कि पुरानो फर्काउँदा ?”
तीन वर्ष लामो छलफल भएर पास गर्ने चरणमा पुगेको नागरिकता विधेयक फिर्ता लिँदा फेरि पनि लाखौं नेपाली नागरिक नागरिकताबाट वञ्चित हुने अर्यालले औंल्याइन् । उनले भनिन्, “नागरिकता नभएर कति युवाले पढ्न पाएका छैनन्, कतिले वृत्ति विकास गर्न पाएका छैनन् । नागरिकता दिन हतार भइसक्यो । त्यसैले अब ढिलो नगरौं, के के मिलाउनुपर्छ, यसमै मिलाउनुपर्छ भनेका हौं । तर पुरानो फर्काउँदा अब झन् ढिला हुन्छ ।”
वर्तमान गठबन्धन सरकार मुलुकका लागि अभिसाप भएको आरोप पनि उनले लगाइन् । अर्यालले थपिन्, “अब हरेक घरघरबाट बहस गर्ने बेला आयो गठबन्धन ठीक कि बेठीक ? यो मुलुकका निम्ति अफापसिद्ध भयो । यसले नैतिकता गुमाइसक्यो । यो सरकार जति लामो समय रहन्छ, राष्ट्रका निम्ति भार हो । गठबन्धनका सच्चा राष्ट्रवादी र जनताको पक्षधर शक्तिले विद्रोह गर्नुपर्छ । मुलुक जोगाउने हो भने राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता हो ।”



प्रतिक्रिया दिनुहोस्