Logo

नेकपा एमालेले नागरिकतामा समेत राजनीति गर्‍योः मीन विश्वकर्मा



काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेकपा एमालेले नागरिकतामा राजनीति गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “तत्कालीन केपी शर्मा ओलीको सरकारले ल्याएको नागरिकता विधेयकको मर्म र भावना विपरीत राज्यव्यवस्था समितिमा नेकपाका सांसदहरुले आफ्नो बहुमतको दम्भ देखाए, धेरै चलखेल गरे । त्यसमा हामीले ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति जनायौं । ल्याउन खोजेजस्तो पनि गर्ने अनि त्यसमा खेल्ने र अलमल्याउने गरेको रहस्य छर्लंग भयो । त्यसैले हामीले पुरानो फिर्ता गरेर नयाँ ल्याउन लागेका हौं ।”
नयाँ विधेयकमा नेकपा एमालेले शंका उपशंका गर्नु वा आग्रह पूर्वाग्रह राख्नु आवश्यक नभएको नेता विश्वकर्माले औंल्याए । उनले थपे, “नागरिकता नागरिकको मौलिक अधिकार हो । तर लाखौं मानिसले यसको उपयोग गर्न पाएका छैनन् । नेकपा एमालेले यसमा समेत राजनीति गरेर ४४ महिना शासन गर्दा पनि ल्याउन मानेन, चाहेन । अब सरकारले विपक्षीको सहमतिमा सार्थक किसिमको नयाँ विधेयक ल्याउँछ र फास्ट ट्रयाकबाट पारित गर्छ ।”
नेपालमा विवाह गरी आउने महिलाले भोलिपल्टै नागरिकताका लागि कानुनी प्रक्रिया सुरु गर्न पाउनुपर्ने पनि उनले जिकिर गरे । कांग्रेस नेता विश्वकर्माले भने, “हामीले संविधान लेख्ने बेलामा महिला र पुरुषलाई समान अधिकारको कुरा गर्यौं । निसर्त मौलिक अधिकार अधिकार हो भन्यौं । अहिले त्यसो होइन भन्न मिल्दैन ।नेपालमा विवाह गरी आउने महिलाले वैवाहिक अंगीकृत नागरिकता पाउँछन् । नागरिकतामा यति वर्षपछि, उति वर्ष भनी हदम्याद तोक्ने व्यवस्था उचित होइन । मानिस भनेको घडी, मोबाइलजस्तो होइन । उसको कुनै ग्यारेन्टी वारेन्टी छैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot