Logo

चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा



पोखरा, २६ असार ।  आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरुले धेरै ब्यक्तिका स्मृतिमा ट्रष्ट, प्रतिष्ठान लगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए ।

धेरै विरोधपछि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफुले नलिने घोषणा गरेका छन् । उनको बाबू स्व. पुननारायण श्रेष्ठ र आमा स्व. धनकुमारी श्रेष्ठको स्मृतिमा बनेको ट्रष्टका लागि २ शीर्षकबाट १ करोड छुट्याइएको थियो । ५० लाख भवन निर्माणर ५० लाख ट्रष्ट संचालनका लागि विनियोजन भएपछि समाचार आयो ।

उक्त समाचार पढेर नागरिक समाज र राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले विरोध र आलोचना गरे । मन्त्री श्रेष्ठले आइतबार विहानै फेसबुकमा स्टाटस लेख्दै उक्त बजेट नलिने घोषणा गरेका छन् । ‘मेरो राजनिति सँधै जनताको सेवाको लागि मेरो कर्म सामाज बिकासको लागि हो । गल्ती भए माफ गर्नुहोला,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भए लगत्तै मेरो बारेमा विभिन्न भ्रम सृजना भएकोले ट्रष्टको बजेट सँग जोडिएर टिप्पणी आएको छ । यसमा मेरो ध्यानाकर्षण भएको छ ।’

उनले ट्रष्ट सामाजिक कामकै लागि विधिवत रुपमा दर्ता भएको संस्था भएकोले समाजकै काममा ट्रष्टले भुमिका निर्वाह गर्ने बताए । ‘उक्त ट्रष्ट जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । जेष्ठ नागरिक सम्मान र महिला सशक्तिकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असाहाय र गरिव तथा रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो,’ उनी भन्छन्, ‘यो संस्था विगत १२ वर्ष देखि सन्चालनमा छ । म गण्डकी प्रदेशको मन्त्रीको हैसियतले मेरो गृह जिल्लामा यो ट्रष्टलाई समाजमा रहेका त्यस्ता बर्गहरुको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर बजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ । तर यो टिप्पणीले मलाई गम्भीर बनाएको छ ।’

मन्त्री श्रेष्ठले उक्त शीर्षकको बजेट हटाइदिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । ‘आगामी वर्षको बजेटवाट उक्त शीर्षक हटाई स्रोत नराखिदिन म अर्थ मन्त्री ज्यूलाई अनुरोध गर्दछु । म सँधै जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेसको ईमान्दार सिपाही हो,’ अघि भने, ‘मेरो वुवा आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु । मैले अब यो शिर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु ।’ फिर्ता भएको बजेट असाहाय ज्येष्ठ नागरिक र महिलाहरुको हक हितमा सदुपयोग गरिदिन आग्रह गरेका छन् । यसअघि कांग्रेस नेता अर्जुन जोशीले पनि आफ्नो बाबूको नामबाट निर्माण हुन लागेको पार्कमा छुट्याएको २० लाख रुपैयाँ नलिने घोषणा गरेका थिए । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्