Logo

अमेरिकी भूमिका बढेलगत्तै चीनबाट किन आए लिय



काठमाडौं, २६ असार । विगत केही वर्षदेखि नेपालमा चिनियाँ चासो धेरै हदसम्म बढेको छ । विगतमा सायदै बाहिर देखिने गतिविधि अहिले सार्वजनिक हुन थालेका छन् । चीनले नेपालको आन्तरिक मामलामा चासो बढाउँदै लगेको छ ।

चिनियाँ उच्च अधिकारीहरुले नेपाललाई प्राथमिकतामा राखेर भ्रमणहरु गर्न थालेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका कम्युनिस्ट पार्टीहरुबीच पार्टीगत सम्बन्ध स्थापित छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसँग चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त प्रशिक्षण नै भयो । नेपालको इतिहासमै देशभित्रको पार्टीलाई अर्को देशको पार्टीले संयुक्त प्रशिक्षण आयोजना गरेको यो पहिलो घटना थियो । २०७६ को ६ र ७ असोजमा सीपीसीका तत्कालीन विदेश विभाग प्रमुख सोङ ताओ नेपाल आएर सी चिनफिङ विचारधारामाथि छलफल गरे । उनले तत्कालीन नेकपामा सी विचारधाराको विषय प्रवेश गराएर छलफलमा लान सके । यो घटना अर्थपूर्ण थियो ।

नेकपा फुट्न लाग्दा चिनियाँ अधिकारीले नेपाल भ्रमण गरेर फुट टार्न खोजे । तर, असफल भए । अहिले कम्युनिस्ट एकतामा चीन सक्रिय भएको खुल्दै गएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी का विदेश विभाग प्रमुखको जिम्मेवारी पाएको एक महिनामै लिय जियानचाओ नेपाल भ्रमणमा आएका छन् । उनी ४ दिने नेपाल भ्रमणमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका अलावा कम्युनिस्ट पार्टीका नेताहरुसँग जियानचाओले भेट्दैछन् ।

चीनका विदेशमन्त्री वाङ यीले गत वर्षको अन्ततिर नेपाल भ्रमण गरेका थिए । बीआरआई कार्यान्वयनको मुख्य एजेन्डा लिएर ११ देखि १३ चैत्र २०७८ मा नेपाल आएका उनले महत्वपूर्ण भेटहरु गरेका थिए ।

चीनका रक्षामन्त्री वेई फेङहेले १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेका थिए । उनी एक दिनका लागि नेपाल आएर सैन्य तहमा पनि भेटवार्ता गरे ।
२१ देखि १५ पौष २०७७ मा सीपीसीका विदेश विभाग उपप्रमुख कुवो येचो नेपाल आएर तत्कालीन नेकपा विवाद मिलाउन खोजे । उनले कम्युनिस्ट एकताको प्रयास गरेको खुल्यो ।

२०७६ को २५ र २६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आए । चिनियाँ राष्ट्रपतिबाट दुई दशकपछि नेपाल भ्रमण भएको थियो । चीनले नेपाल मामलामा निकै चासो दिएको सन्देश थियो त्यो ।

नेपालमा चिनियाँ निर्माण कम्पनी देखि विभिन्न क्षेत्रका लगानी बढेर गएका छन् । विशेषगरी पूर्वाधार क्षेत्रमा चीनले आक्रामक उपस्थिति बढाएको छ । चीनले बढीभन्दा बढी आर्थिक र राजनीतिक क्षेत्रमा भूमिका बढाएर लगेको छ । त्यहाँका उच्च अधिकारीहरुको बाक्लो भ्रमणको कारण पनि यही देखिन्छ ।

पछिल्लो समय अमेरिकाबाट धमाधम उच्च अधिकारीहरुको भ्रमण बाक्लिएको छ । विशेषगरी शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि भ्रमण बढेर गएको छ । त्यसपछि केही पातलिएको चिनियाँ अधिकारीहरुको भ्रमण फेरि बाक्लिएको छ ।-Photo Source: RSS



प्रतिक्रिया दिनुहोस्