Logo

देउवामाथि दबाब बढाउँदै इतर समूह



काठमाडौं, असार २७ । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।

आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज सोमबारबाट बस्दै छ । केन्द्रीय समिति बस्ने अघिल्लो दिन इतर समूहले बैठकमा उठाउने विषयमा रणनीतिसमेत बनाएको छ । इतर समूहले बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।

संस्थापन समूहले भने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको विषयलाई एजेन्डा बनाएको छ ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले केन्द्रीय समिति बैठकमा सरकारको कामकारबाहीबारे गम्भीर समीक्षा गर्ने विषयमा छलफल भएको नेता चन्द्र भण्डारीले जानकारी दिए । कांग्रेसभित्रको इतर पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

इतर समूहले केन्द्रीय समिति बैठकमा पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको भन्दै त्यसतर्फ पनि सभापतिमाथि दबाब सिर्जना गर्ने रणनीति बनाएको छ ।

यसैगरी, स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी मंसिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको हितमा हुनेगरी गठबन्धनलाई थप सशक्त बनाउने विषयमा पनि सशक्त रूपमा अघि बढ्ने निर्णय भएको बताइएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्