Logo

चिनियाँ नेता कम्युनिस्टहरू मिलाउन आएका होइनन्, तत्काल एकता सम्भव पनि छैनः एमाले नेता



काठमाडौं, २८ असार । नेकपा एमालेका नेता विष्णु रिजालले कम्युनिस्टहरुको एकता र विभाजनमा विदेशीलाई श्रेय वा दोष दिन नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भने, “आफ्नो समस्या आफैं समाधान गर्न नसकेर कम्युनिस्टहरुको जुट र फुटका शृंखला चलेका हुन् । यसमा कुनै मित्रदेशलाई दोष वा श्रेय दिनुपर्ने आवश्यकता छैन । विगतमा पनि हामी चीनका कारण मिलेको होइन । चीनका कारण फुटेको पनि होइन । तत्कालीन नेकपा प्रचण्डका चरम महत्वाकांक्षाका कारण विभाजन भएको हो । कुनै पार्टी वा देशविशेषले एकताको पहल गर्न सक्दैन । कसैले आग्रह गर्दैमा मिल्ने वा नमिल्ने पनि होइन ।”
उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ कम्युनिस्टहरुलाई मिलाउन नआएको पनि जिकिर गरे । रिजालले थपे, “चिनियाँ कम्युनिस्ट पार्टीमा नेतृत्व परिवर्तन भएपछि लिउले सबै राजनीतिक दलहरुसँग सहकार्यका लागि भर्चुअल संवाद गर्नुभयो । नेपाल आउनेबित्तिकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य नारायण खड्कासँग भेट्नुभयो । आज अरु पार्टीका नेताहरुसँग भेट्ने कार्यक्रम छ । यसको अर्थ चिनियाँ कम्युनिस्ट पार्टी सबै दलसँगको सम्बन्ध सुमधुर बनाउन चाहन्छ भन्ने हो । किनभने जुनसुकै सरकार आए पनि नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ र कुनै पनि मित्रदेशविरुद्ध आफ्नो देशको भूमि प्रयोग गर्न दिँदैन ।”
अहिलेको स्थितिमा वामपन्थी दलहरुबीच एकता वा तालमेलको सम्भावना नरहेको पनि उनले औंल्याए । रिजालले भने, नेकपा एमालेलाई पराजित गरेर कांग्रेसलाई पहिलो पार्टी बनाउनु, कम्युनिस्ट पार्टीको सरकार ढालेर त्यसका सभापतिलाई प्रधानमन्त्री बनाउनुलाई आफ्नो ठूलो सफलता र विजय ठान्ने कथित वामपन्थीहरुसँग कसरी एकता हुन सक्छ ? उहाँहरु आफैंले दक्षिणपन्थी, यथास्थितिवादी र बुर्जुवा भनेको पार्टीलाई नेता मानेर हिँडिरहनुभएको छ । पहिले त कांग्रेसको चंगुलबाट उम्किनुपर्यो । वामपन्थी वामपन्थी भनेर रहर गरेर हुन्छ र ? वामपन्थी हुनलाई त पहिले वामपन्थमा फर्किनुपर्‍यो नि ।”

 



प्रतिक्रिया दिनुहोस्