Logo

प्रहरीलाई लौरोकै भर, हेलमेट समेत काम नलाग्ने भएपछि फिल्डमा खटिनेको ज्यान जोखिममा



काठमाडौं, २८ असार । यतिबेला लौरोको चर्चा छ । कोही लौरो चिन्ह लिएर चुनावमा बाजी मार्न सफल भए त कोही सुनको लौरो उपहार पाएर चर्चामा आए । कुनैबेला लौरो प्रहरीले बोक्ने गर्दथ्यो । कतिपयले यसलाई डन्ठा पनि भन्थे ।

यतिबेला प्रहरी फेरि लौरोको भरमा छ । हतियारहरु खिया लागेका छन् । यतिसम्मकी हेलमेट र भीड नियन्त्रणका लागि प्रयोग हुने सामाग्री निकै कम छन् । काठमाडौंमा चाहिएमा बाहिर जिल्लाबाट मगाउने र बाहिर चाहे यताबाट दौडाएर लाने अवस्था छ ।

सात वर्ष भयो नेपाल प्रहरीले हतियार, सञ्चार सामाग्री देखि भीड नियन्त्रणका लागि आवश्यक आधुनिक साधन खरिद गर्न खोजेको छ । राजनीतिक हस्तक्षेपका कारण पनि हतियार खरिद गर्न सकेको छैन ।

प्रहरीले चुनावको बेलामा हतियार नभएर नेपाली सेनासँग बालगिरीमा लियो । २४ वैशाखमा नेपाली सेनाबाट नेपाल प्रहरीले चुनावका लागि भनेर एक हजार थान हतियार लियो । चुनाव सकिएपछि ८ जेठमा हतियार फर्कायो । बालगिरीमा लिएको हतियार फर्कियो । प्रहरी खिया लागेको हतियारको भरमा छ ।

एमसीसीको विरोधका बखत भीड नियन्त्रण गर्न प्रहरीसँग सामाग्री नै भएन । उसले एक हजार थान सामाग्री पश्चिम नेपालबाट मगायो । वाटर क्यानन पनि २ वटा उत्तैबाट मगायो । एमसीसीको विषय थामथुम भएपछि उतै फर्काइयो ।

प्रहरीसँग यतिबेला टियर ग्याँस पनि म्याद सकिएको छ । कतिपय हतियार नचल्ने खालको रहेको बुझिएको छ । आवश्यक पर्दा अपराधीसँग भिड्न सम्म प्रहरी नसक्ने अवस्थामा पुगिसकेको छ । त्यसैले अपराधी र गुण्डानाइके समेत प्रहरीसँग डराउन थालेका छन् ।

लौरो र डन्ठाको भरमा मात्र परेपछि प्रहरीले ७ वर्ष देखि हतियार खरिदको प्रयास गरिरहेको छ । गत वर्षको १८ फागुनमा प्रक्रिया बढायो । निर्वाचन सुरक्षाका लागि ९०० गाडी, एक अर्बको हतियार, १५ करोडको सञ्चार साधनलगायत खरिदको प्रक्रिया बढाउन प्रस्ताव पठायो । गत वर्षको फागुनमा सारिएको प्रक्रिया अहिले बढेको छ ।

प्रहरीले हतियार खरिद प्रक्रिया बढाएपछि विवादको विषय पनि आउन थालेको छ । तर, नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राई प्रहरीलाई आवश्यक भएरै हतियार खरिद गर्न लागेको बताउँछन् । आवश्यक हतियार र साधन नभएर अपराध र भीड नियन्त्रणमा पनि कठिनाई भइरहेको बताए । चुनावका बेलामा सेनासँग बालगिरीमा हतियार लिएको र फिर्ता गर्नुपरेको उनको भनाई छ ।

प्रहरीसँग अहिले हेलमेटको पनि अभाव भएबाट शान्तिसुरक्षामा खटिने प्रहरी समेतको ज्यानको खतरा भएको घटनाहरु छन् । नुवाकोटमा फोहोर फाल्न गएका गाडीको सुरक्षामा खटिएका प्रहरी स्थानीयको आक्रमणमा घाइते हुनुमा सुरक्षाका साधन नहुनु पनि कारण हो । कतिपय प्रहरीको टाउकोमा चोट लागेको छ । कतिपय प्रहरी टाउको जोगाउन ढुङ्गा रोक्दा हात भाँच्चिएर उपचाररत छन् । पछिल्लो समय भीड नियन्त्रणमा समेत सामाग्री नहुँदा प्रहरीहरुको ज्यानको जोखिम बढेको छ ।



प्रतिक्रिया दिनुहोस्