Logo

जङ्गबहादुरले गर्न नमानेको काम पनि किन गरिदैछ(भिडियो विश्लेषणसहित)



दीपेश केसीः नेपालको इतिहासमा जङ्गबहादुरलाई खलपात्रका रुपमा चित्रण गर्ने इतिहासकारहरु धेरै छन् । उनले रक्तपातपूर्ण कोतपर्वको योजना बनाएको देखि सत्ताका लागि आफ्नै मामा माथवरसिंह थापासम्मको हत्या गरेको उल्लेख छ ।

जङ्गबहादुर राणालाई भेटेका रुसी नागरिक मिनाएभले उनको बारेमा लेखेका छन् । १९ औं शताब्दीमा नेपाल आएका थिए मिनाएभ । जङ्गबहादुर मसिनो स्वरले बोल्ने गरेको यात्रावर्णनमा उल्लेख छ । मिनाएभले लेखेका छन्,‘आफूभन्दा पछि हुने नेपालका भावी शासकहरुले उनको प्रतिमाको यथायोग्य सम्मान दर्शाउते छैनन् भन्ने ठानेर जङ्गबहादुरले राखिसकेको शालिक नै हटाउन आदेश दिए ।’ जङ्गबहादुरले समेत आफ्नो शालिक राख्न दिएनन् । उनले न त बाटोघाटो, पुल पाटी, पौवामा आफ्नो नाम राखे ।

जङ्गबहादुर यतिसम्म दुरदर्शी रहेको रुसी यात्री मिनाएभको यात्रावर्णनबाट बुझ्न सकिन्छ । २१औं शताब्दीका नेपालका नेताहरु अहिले नै आफ्नो शालिक ठड्याउँला जस्तो गर्न थालिसकेका छन् । कतिपयले आफ्ना परिवारका सदस्यको शालिक ठड्याउन लगाइसकेका छन् । कस्को कति योगदान हो र कहाँ कस्को शालिक ठड्याउने भन्दा पनि आफ्ना मान्छेको शालिक सार्वजनिक स्थानमा ठड्याउने प्रवृत्ति हावी भइसकेको छ । हुँदा हुँदा आत्महत्या गरेका गायकको समेत शालिक ठड्याउने कुरा आएको छ ।

कुनैपनि शालिक आफैमा सन्देश हो । कस्ले कति योगदान गरेको छ र त्यो व्यक्ति देख्दा पनि सर्वसाधारणको मनमा सकारात्मक विचार र प्रेरणा जाग्नुपर्छ । अहिले सडकका चोकहरुमा यस्ता व्यक्तिहरुको शालिक ठड्याइएका छन् जनताले श्रद्धा भन्दा पनि नकारात्मक भाव देखाउँछन् । कतिपय ठाउँ र बाटोहरुको नाम जर्बजस्ती थोपरिएको छ । यति त तानाशाह भनिएका जङ्गबहादुरले पनि गरेका थिएनन् ।

देशमा अनगिन्ती सहिद घोषणा गरिएका छन् । कसैको शालिक ठड्याइएको छ त कसैको नाम ठाउँ विशेषमा राखिएको छ । शालिक थोपरिएकाछन् । नामहरु जर्बजस्ती थोपरिएका छन् । प्राचीन र संस्कृतिसँग जोडिएका नामहरु मेट्ने गतिविधिहरु भइरहेको छ । यो पनि एक प्रकारको सांस्कृतिक अतिक्रमण हो । सँसारमा यस्ता गतिविधिहरु धेरै भए तर टिकेनन् । ठूला ठूला शालिक पनि जनताले ढाले । जङ्गबहादुरले त्यही बुझेर राखिसकेको शालिक निकाल्न लगाएका थिए । अहिले देशमा जे जसरी जर्बजस्ती शालिकहरु ठड्याइएका छन् त्यसमाथि प्रश्नहरु उठ्न थालेको छ । शालिककै अवमूल्यन हुन थालेको छ । यसले गलत सन्देश गइसकेको छ । नयाँ पीढीमा शालिकको महत्व नै घट्ने, सहिदप्रतिको सम्मानमा ह्रास आउने घटनाहरु विकास भएका छन् । इतिहासको अपमान कुनैपनि राष्ट्रका लागि सकारात्मक होइन ।



प्रतिक्रिया दिनुहोस्