Logo

अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक



काठमाडौं, असार २९ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेखे, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद हो ।

सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पु-याउन सबै लाग्नुपर्ने देखिन्छ ।”

यसअघि सोमबार उदयपुरमा त सामुदायिक विद्यालयका विद्यार्थीले जुलुसले नै निकालेर पाठ्यपुस्तक उपलब्ध गराउन माग गरे । पढाइको चिन्ता गर्दै ब्यानर बोकेर बालबालिका नै सडक आन्दोलनमा उत्रेको सम्भवतः यो पहिलो पटक हो । यस घटनाले पाठ्यपुस्तक अभावको समस्याले स्कुले नानीबाबुलाई कति पिरोलेको छ भन्ने स्पष्ट हुन्छ ।

कानुनअनुसार वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु भए पनि स्थानीय तहको निर्वाचन र गत वर्ष ढिलो शैक्षिक सत्र सुरु भएर पढाइ एक महिना लम्बिएका कारण यस पटक जेठ १ देखि मात्रै पढाइ सुरु भएको हो ।

यस पटक एक महिना ढिलो पढाइ सुरु हुँदा पनि पुस्तक पु¥याउन नसकेको भन्दै पुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आलोचना भइरहेको छ । यसबारे केन्द्रका प्रवक्ता चित्र आचार्यले पुस्तक छपाइ लगभग सकिएको जवाफ दिए ।

जबकि केन्द्रले केही दिनअघि मात्रै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा रहेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिलाई अझै १० लाख थान पुस्तक छपाइ बाँकी रहेको लिखित जानकारी गराएको थियो ।

जनक शिक्षा आफैँले छाप्न नसकेर नेपाल प्रज्ञा प्रतिष्ठानलाई दिएको छ तर नेपाल प्रज्ञाले पनि कागजकै अभावमा तोकिएको सङ्ख्यामा पुस्तक छाप्न नसकेको जनाएको छ । प्रतिष्ठानलाई जनकले कक्षा आठका सात लाख थान पुस्तक छाप्ने जिम्मा दिएको थियो । जनकले नै कागज उपलब्ध गराउने सर्तमा उक्त सम्झौता भए पनि कागज नदिएकाले आफूहरूले छाप्न नसकेको प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक डा जगतप्रसाद उपाध्यायले बताए ।

प्रज्ञा प्रतिष्ठानसँग भएको सझौताअनुसार पुस्तक छाप्न कागज किन नदिएको त भन्ने जिज्ञासामा आचार्यले प्रतिप्रश्न गर्दै भने, “आफैँलाई त पुस्तक छाप्न कागज छैन । प्रतिष्ठानलाई कसरी

दिनू?” जनक शिक्षाको यो जवाफबाट स्पष्ट हुन्छ कि विद्यार्थीले पुस्तक अभावको सामना कहिलेसम्म गर्नुपर्छ भन्ने निधो छैन । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्