Logo

देउवा सरकारको एक वर्ष धेरै असफल, भ्रष्टाचारले बालुवाटार नै गन्हायो भन्ने आरोप छ : आचार्य (भिडिओसहित)



काठमाडौं, २९ असार । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाको एक वर्षको कार्यकाल केही सफल र धेरै असफल भएको टिप्पणी गरेका छन् । उनले देउवाले लामो समयदेखि थाँती रहेको एमसिसी पारित गराएको भन्दै त्यसलाई सफलताको रुपमा दर्ज गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले स्थानीय तहको निर्वाचन पनि सफल रुपमा सम्पन्न गरेको सुनाए ।

उनले भने,‘शेरबहादुर देउवामाथि यो आरोप थियो, उहाँले निर्वाचन गराउन सक्नुहुन्न, पहिला राजालाई बुझाउनुभयो भन्ने आरोप थियो । यसपालि उहाँले टाईम्ली निर्वाचन गराउनुभयो । दोस्रो कुरा उहाँले एसपिपी अस्विकार गर्ने निर्णय गराउनुभयो । अर्को कुरा उहाँले वाम गठबन्धन टिकाउनुभयो । त्यो पनि सफल कुरा हो ।’ उनले प्रधानमन्त्री देउवाले पनि केपी शर्मा ओलीकै बाटो समातेको आरोप लगाए ।

उनले भने,‘शेरबहादुरजी त त्यतिवेला पनि ओलीसँग साँठगाँठ गरेर निर्वाचनमा जान तयार भैसक्नुभएको थियो । उहाँको अभिव्यक्तिले त्यो कुरा प्रष्ट रुपमा बुझिन्थ्यो । अहिले प्रधानमन्त्री देउवाले पनि ओलीजस्तै कर्म गर्न थाल्नुभयो । अध्यादेशबाट शासन चलाउँदैहुनुहुन्छ । बजेटमा अर्थमन्त्रालयको काण्ड भयो । उहाँले तुरुन्तै अर्थमन्त्रीलाई फायर गर्नुपर्दथयो । सत्य, तथ्य बाहिर ल्याउनुपर्दथ्यो ।’ अहिले प्रधानमन्त्री देउवाले भ्रष्टाचार रोक्न चासो नदेखाएको पनि उनको आरोप छ ।

उनले भने,‘अहिले भ्रष्टाचार चरम छ । उहाँले भ्रष्टाचार रोक्ने चाहना पनि देखाउनुभएको छैन् । अझ भ्रष्टाचारमा चाहीँ उहाँकै आसेपासे, छेउ, किनारा, बालुवाटारै गन्हायो भन्ने आरोपहरु प्रशस्त चिया पसलको चर्चाको विषय छ । मलाई त थाहा छैन्, तर उहाँको परिवारभित्र पनि यो आरोप लागेको छ । यो सबै कुरालाई उहाँले सम्हाल्न सक्नुभएन । उहाँ यो एक वर्षमा उहाँ जस्ट पास हुनुभयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot