Logo

सिन्जो अबेको हत्यामा जोडियो ‘होली वाइन’ पिलाउने युनिभर्सल चर्च



एजेन्सी, २९ असार । नेपालमा कुनैबेला होली वाइन खूबै चर्चामा आयो । युनिफिकेशन चर्चले नेपालमा होली वाइन पिलाउने कार्यक्रममा नेपालका शिर्ष कम्युनिस्ट नेताहरु पुगेका थिए । जसमध्ये केपी शर्मा ओली, माधवकुमार नेपाल समेत थिए । तत्कालीन नेकपा एमालेका प्रभावशाली नेताहरु होली वाइन पिउन पुगेका थिए ।

होली वाइन फेरि चर्चामा आएको छ । यसपटक होली वाइन पिलाउने संस्था युनिफिकेशन चर्च चर्चामा आएको हो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो अबे हत्या प्रकरणमा युनिफिकेशन चर्चको विषय पनि जोडिएर आएको हो ।

हत्यामा संलग्न ४१ वर्षीय युवक टेट्ुया यामागामीकी आमा उक्त चर्चकी सदस्य भएको पुष्टि भएको छ । उनकी आमाले युनिफिकेशन चर्चलाई धेरै चन्दा दिएकी थिइन् । धेरै चन्दा दिंदा परिवार आर्थिक संकटमा पर्यो । हत्या आरोपी यामागामीले युनिफिकेशन चर्चलाई पूर्वप्रधानमन्त्री नोबुसुके किसीले जापानमा भित्राएको ठान्थे । उनै किसीका नाति हुन् अबे । हजुरबाबुप्रतिको आक्रोश यामागामीले नातिलाई पोखेको विषय जापानी सञ्चारसंस्था एनएचकेले उल्लेख गरेको छ ।

युनिफिकेशन चर्चका जापान च्याप्टरका अध्यक्ष टोमिहिरो टानाकाले यामागामी र अबे दुवै चर्चको सदस्य नरहेको स्पष्ट पारेको छ ।
युनिफिकेशन चर्च सन् १९५४ मा दक्षिण कोरियाली नागरिक सुन म्युङ मुनले स्थापना गरेका हुन् । उनले आफू र पत्नी हाक जा जानलाई असली अभिभावक भन्थे । सन् २०१२ मा मुनको निधन भयो ।

मुन कम्युनिस्ट विरोधी थिए । उनले विश्वका परम्परावादीहरुसँग सम्बन्ध स्थापित गर्न खोजे । दोस्रो विश्वयुद्धपछि जापानमा अस्थिरता भएपछि चर्चले आफ्नो आधार फैलाउन थाल्यो । जापानमा कम्युनिस्टलाई फैलन नदिन युनिफिकेशन चर्चले भूमिका खेल्यो ।

युनिफिकेशन चर्च विवादमा पर्दै आयो । विश्वभर अरबौं डलरको व्यवसायिक साम्राज्य खडा गरेको विषय पनि उठ्यो । जसमा पत्रपत्रिका, घरजग्गा, अस्पताललगायत पर्दछन् । मुन सन् १९८२ मा अमेरिकामा कर छलीको आरोपमा जेल समेत परे ।

 



प्रतिक्रिया दिनुहोस्