Logo

राजकिशोर यादवलाई फकाउँदै बाबुराम भट्टराई



काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी, नेपाल विभाजनको मुखमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दुवै पक्षले आ–आफ्नो पक्षको बैठक राखेपछि जसपा आधिकारिक रुपमा विभाजनतर्फ अघि बढेको छ । भट्टराईले हिजोबाट केन्द्रीय समितिको विस्तारित बैठक सुरु गरेका छन् । उता, यादवले आजबाट केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेका छन् ।

भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ भने यादव पक्षको बैठक भने वीरगञ्जमा छ । दुवै पक्षले एक अर्कौ पक्षलाई पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् । यादव पक्षले भने आफूहरुको बैठक आधिकारिक भन्दै भट्टराई पक्षको बैठक विधानविपरित भनेको छ । जसपामा यतिवेला यादव र भट्टराई दुवै पक्षमा नखुल्ने नेताहरु पनि छन् । राजकिशोर यादव यतिवेला दुवै पक्षको भेलामा गएका छैनन् ।

तर, उनलाई दुवै पक्षका नेताहरुले आफ्नो पक्षमा तान्नको लागि सक्रियता बढाएका छन् । आजमात्रै यादवको साथ खोज्दै बाबुराम भट्टराईका विश्वासपात्र विश्वदिप पाण्डे उनको निवासमा पुगेका थिए । यादवले भने आफू पार्टी एकताको पक्षमा रहेको भन्दै विभाजनको लागि कुनैपनि भूमिका नखेल्ने जवाफ दिएका थिए । सुरुमा यादव भट्टराईकै पक्षमा थिए । तर, अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टहरुलाई समेटेर मन्त्री बनाएपछि जसपामा एकाएक समिकरण फेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्