Logo

प्रेम छोटालाई गोधूली भानु शिखर अभिनन्दन



काठमाडौं, २९ असार । गोधूली साहित्य प्रतिष्ठानले साहित्यकार प्रेम छोटालाई ‘गोधूलि–भानु शिखर अभिनन्दन–२०७९’ प्रदान गरेको छ । बुधबार भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले अभिनन्दन पत्र प्रदान गरेका हुन ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएका साहित्यकार छोटालाई प्रतिष्ठानले अभिनन्दन गरेको हो । अभिनन्दिन व्यक्तित्व छोटाको बारेमा बोल्दै प्रा।डा। षडानन्द पौड्यालले छोटा व्यत्ति नभएर सिंगो संस्था भएको उल्लेख गर्नु भयो । उहाँले बाग्लुङको माटोमा रहेर समग्र धौलागिरी र नेपाली भाषा, साहित्यको क्षेत्रमा अनवरत योगदान पु¥याएको भन्दै उहाँलाई जति नै सम्मान र अभिनन्दनका शब्दहरु खर्चिए पनि कमै हुने बताउनु भयो । एक सामान्य परिवारमा जन्मिएका छोटाले नेपाल वाङ्मयमा लागेर अग्रजको सम्मान, समकालीनहरु संगको सहकार्य र अनुजलाई प्रोत्साहन गर्ने संस्कार बसाल्नु भएको भन्दै गोधूलिले अभिनन्दनका लागि सही पात्र छनोट गरेको भन्दै प्रशंसा गर्नु भयो ।
त्यस्तै कार्यक्रमका उद्घोषक प्रकाश समीरले छोटाले नेपाली भाषा, साहित्यलाई शिखरमा पु¥याउनका लागि आफ्नो ६ दशक खर्चिनु भएको भन्दै एक गौरवशाली व्यक्तित्वको छोटालाई अभिनन्दन गर्दा संस्था आफै अभिनन्दित भएको बताउनु भयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा वरिष्ठ संस्कृतिविद् तुलसी दिवसले प्रेमको नाममा छोटा भए पनि उहाँ छोटा नभएर बडा भएको बताउनु भयो ।

त्यस्तै सोही अवसरमा संस्कार समाज नेपाल र अरनिको एसिया फाउन्डेसनले पनि छोटालाई अभिनन्दन पत्रद्धारा अभिनन्दन गरेको थियो ।

उक्त कार्यक्रममा प्रतिष्ठानले कवि एवं समोलचक राजन न्यौपाने र अर्का कवि राजेन्द्र तारकिणीलाई जनही दश हजार नगदसहित ‘भानु भाषा, साहित्य पुरस्कार’ प्रदान गरेको छ । साथै गोधूली साहित्य प्रतिष्ठानले नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई सम्मान गरेको छ । यसवर्षको गोधूली भानु भाषा, साहित्य सम्मानबाट साहित्यकारहरु बमबहादुर जिताली, शीला पन्त, प्रभा भट्टराई र पशुपति दंगाल, कवि भावना खनाल र कवि एवं अभियन्ता ओमकृष्ण प्रसाईलाई प्रदान गरेको छ ।

अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन भन्ने मर्मलाई आत्मसाथ गरेको प्रतिष्ठानले भानु जन्मजयन्तीको अवसरमा राजधानीदेखि मोफसलाका विभिन्न दश जना श्रष्ठाद्वारा कविता वाचन समेत गरेको छ । विगत डेढ दशक लामो समयदेखि निरन्तर रूपमा विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहेको गोधूलि साहित्य प्रतिष्ठानले साहित्य, कला, सङ्गीत र समाजसेवाका क्षेत्रमा योगदान पु¥याउने वरिष्ठ साधक तथा नवोदित प्रतिभालाई विभिन्न सम्मान तथा पुरस्कृत गर्दै आइरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ कवि साहित्यकार तुलसी दिवसले कविता लेखर केही पनि हुँदैन भन्ने सोचाइ गलत भएको बताउनुभयो । कविता लेखेरै आफू ८०–९० वटा देशहरुमा पुगेको अनुभव सुनाउँदै कवि दिवसले भाषा, कला र संस्कृतिको विस्तारमा कविता लेखनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । राजनीतिक र प्रशासनिक कार्यमा लागेकाहरु भूत पूर्व हुने भए पनि साहित्य सिर्जनामा लागेको मानिसहरु कहिल्यै पनि भूतपूर्व नहुने उहाँको भनाई छ ।

कवि दिवस कविता लेखेरै पैसा कमाउन नसके पनि नाम कमाउन सकिने र त्यो नाम इतिहासमा लेखिने बताउनुभयो ।
संस्थाका अध्यक्ष गंगा लिगलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन प्रकाश समीर र महेश कठायतले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्