Logo

पार्टी सभापति शेरबहादुर देउवालाई सफल नमान्ने हो भने महामन्त्री गगन थापा पनि असफल: शंकर भण्डारी



काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई असफल भन्ने हो भने महामन्त्री गगन थापा पनि सफल नभएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “गगन थापा पार्टीको चौधौं महाधिवेशनमा अति ठूलो विश्वास प्राप्त गरी महामन्त्रीमा निर्वाचित भएर आउनुभएको होइन ? महामन्त्री भएर उहाँले के के गर्नुभयो ? मिडियामा मात्र चर्चामा आएर हुन्छ ? पार्टीलाई व्यवस्थित र सुदृढ बनाउन पार्टी सभापतिको मात्र भूमिका हुन्छ ? यसमा केन्द्रीय पदाधिकारीको भूमिका हुँदैन ? धनराज गुरुङ पनि पदाधिकारी होइन ? तर कार्यशैलीगत टिप्पणी हुनुलाई आलोचना भन्न मिल्दैन ।”
पार्टी केन्द्रीय समिति बैठकमा हिन्दुराष्ट्रको आवाज उठ्नु बेमौसमी बाजा नभएको पनि उनले औंल्याए । भण्डारीले भने, “यो देशको शक्ति भनेकै सनातन संस्कृति हो । शंकर भण्डारीभन्दा माथि पार्टी छ, पार्टीभन्दा माथि देश छ । केन्द्रीय समितिमा मैले मात्र नभएर भीम पराजुली, प्रकाश स्नेहीले पनि हिन्दु राष्ट्रका आवाज उठाउनुभएको छ । मैल महाधिवेशनमै केन्द्रीय सभापतिको उम्मेदवार बनेर यसलाई नेतृत्व दिनुपथ्र्यो । त्यसमा मैले गल्ती महसुस गरेको छु ।”
तपाईंले केन्द्रीय सदस्यको लोभमा हिन्दुराष्ट्रको एजेन्डा छाड्नुभएको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “लोभ त शंकर भण्डारीको शब्दकोशमै छैन । मेरो कमीकमजोरी भयो । हिन्दुराष्ट्रको एजेन्डालाई अब पार्टीले बेवास्ता गर्न मिल्दैन । मुलुकमा संघीयता आवश्यक नभएको पुष्टि भैसकेको पनि भण्डारीले बताए ।”
गठबन्धन दलहरुको ‘बार्गेनिङ’ गलत भएको पनि उनको आरोप छ । उनले भने, “हाम्रो पनि कतिपय कमीकमजोरी भए होलान् । धेरै ठाउँमा कांग्रेसलाई धोका भएको छ । तर त्यसलाई माओवादी, एकीकृत समाजवादी, जसपाले आत्मसात् गर्न सकेका छैनन् । गठबन्धनको आवश्यकता कांग्रेसलाई मात्र परेको हो र ? सबैको आवश्यकतालाई आत्मसात् गरेर गठबन्धनमा गएको हो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot