Logo

बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद छन्: जसपा नेता



काठमाडौं, ३० असार । जनता समाजवादी पार्टी (जसपा) नेता गंगानारायण श्रेष्ठले बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद रहेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “अहिले हामीले कसको पक्षमा कति जना सांसद भनेर गणना गरेका छैनौं । तर १० जनाभन्दा बढी सांसद हामीसँग छन् । त्यो कुरा समय आएपछि सार्वजनिक गर्छौं ।”
पार्टी केन्द्रीय समितिमा कसैको पनि बहुमत नपुग्ने पनि उनले दाबी गरे । श्रेष्ठले थपे, “केन्द्रीय समितिको यकिन संख्या म भन्न सक्दिनँ । तर बहुमत कतै पनि पुग्ने खालको देख्दिनँ । उपस्थित भएमध्येको बहुमत हो । कानुनी पुनर्गठन हुने बेला २२९ नाम सार्वजनिक हुन्छ ।
काठमाडौंमा सम्पन्न दुईदिने विस्तारित बैठकले पार्टी विभाजनभन्दा पनि पार्टी पुनर्गठनको निर्णय भएको नेता श्रेष्ठले बताए । उनले भने, हामीले उपेन्द्र यादवलाई वीरगन्जको बैठक स्थागित गरेर काठमाडौंमै बैठक गरौं भनेकै हौं । अन्तिमसम्म रुपान्तरणको पहल गरेकै हौं । तर त्यो सम्भव भएन ।”
श्रेष्ठले पार्टीको नामबारे टुंगो नलागेको र गठबन्धनमा लचिलो हुने पनि सुनाए । उनले थपे, “जनता समाजवादी पार्टीका विचार र मुद्दाहरुको अपनत्व लिएर समानुपातिक, समावेशी र सहभागितामूलक दल बनाउने छौं । हामीले पाँच दलीय गठबन्धन त्यागेका छैनौं । आवश्यकता हेरेर लचिलो भएर गठबन्धन पनि गर्छौं ।”
उनले पार्टी अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईमाथि कुनै कारबाही गर्न नक्ने जिकिर गरे । श्रेष्ठले भने, “आफू सरह वा आफूभन्दा तल्लो नेतालाई पो कारबाही हुन्छ । आफूभन्दा माथिलाई कसरी कारबाही हुन्छ र ? संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपेन्द्रजी मातहतको कार्यकर्ता हो र ? पार्टीको बहुमत सदस्य नभईकन कसरी कारबाही गर्न सक्नुहुन्छ ? हाम्रो आँखाबाट हेर्दा उपेन्द्र यादवले अनुशासनहीन काम गरेर बैठक बोलाउनुभएको छ । तर हामी उहाँलाई कारबाही गर्दैनौं ।”
विचार र कार्यक्रम मिल्यो भने पार्टी धु्रवीकरण र एकीकरण हुने पनि श्रेष्ठले बताए । उनले भने, “अहिले हामीले माओवादी केन्द्र वा अन्यत्र जाने होइन, पार्टी पुनर्गठन गर्ने हो । विचार र कार्यक्रम मिल्यो भने पार्टी धु्रवीकरण र एकीकरण जान सक्छ । म कुनै पार्टीको नाम लिन्नँ । सहकार्य त केपी ओली, कांग्रेस वा माओवादी केन्द्र जोसँग पनि हुन सक्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot