Logo

‘चीनको प्राथमिकता’ मा ओली त्यसपछि प्रचण्ड अनि माधव नेपाल



काठमाडौं, ३० असार । कूटनीतिमा बडी ल्यांग्वेजले पनि धेरै सन्देश दिइरहेको छ । कुनैपनि भ्रमणमा नेताहरुबीचको हाउभाउ र हातेमालोको शैलीको पनि आफ्नै सन्देश हुन्छ । यस्तै सन्देश दिएको छ चीनले आफ्ना विदेश विभाग प्रमुखसहितको टोली नेपाल पठाए ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओसहितको टोली नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएको छ । टोली भ्रमण समयमा अति व्यस्त भयो । लामो लामो समय नेताहरुसँग भेटवार्ता गर्यो ।

सीसीपीले यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निकै महत्व दियो । ओलीसँग लिउले चार घन्टा बालकोट पुगेर भेटवार्ता गरे । यो उनले कुनैपनि नेतासँग गरेको भेटवार्तामध्ये सबैभन्दा लामो हो । विदेश विभाग प्रमुख नियुक्त भएको एक महिनामा उनले यति लामो समय कुनैपनि देशको नेतासँग छलफल गरेका छैनन् । यो आफैमा किर्तिमान हो उनका लागि । ओली यसकारण पनि चीनले महत्व दिएकामा पर्दछन् भन्ने बुझ्न सकिन्छ ।

त्यसो त ओलीका पालामा चीनसँग महत्वपूर्ण सम्झौताहरु भए । चिनियाँ निर्माण कम्पनीहरुले ठेक्काहरु धेरै पाए । यतिसम्मकी चीनले सीमा मिचेको विषय उठ्दा ओलीले उल्टै चीनको बचाऊमा बोले । आफ्नै देशको सरकारको विरोध गरे ।

ओलीपछि लिउले बढी समय प्रचण्डलाई दिए । प्रचण्डसँग दुई घन्टा बिताए । प्रचण्ड पनि चीनसँग सुमधुर सम्बन्ध भएका नेता हुन् । तर, पछिल्लो समय चीनले प्रचण्डसँग विगतभन्दा दूरी बढाएको देखिन्छ । सीसीपीका विदेश विभाग प्रमुख लिउले भेटबाट प्रचण्ड ओली जति महत्वमा नपरेको सन्देश दिए ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसँग लिउले सवा एक घन्टा बिताए । यो समय ओली र प्रचण्डभन्दा कम हो । चीनले माधव नेपाललाई ओली र प्रचण्डभन्दा कम महत्व दिएको देखिन्छ ।

लिउले प्रधानमन्त्री शेरबहादुर देउवासँग एक घन्टाभन्दा कम समय बिताए । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग ४५ मिनेट भेटवार्ता गरे । देउवा शिर्ष कम्युनिस्ट नेताहरुभन्दा चीनबाट कम महत्वमा परे । हुनपनि देउवाले चीनसँगको सीमा समस्याको विषय उठाए । अध्ययन टोली नै बनाएर प्रतिवेदन बुझाइएको छ । चीनको बीआरआई पनि देउवाले अस्वीकार गरे । अनुदान हो भने मात्र लिने स्पष्ट पारे । यसकारण पनि देउवालाई चीनले सकारात्मक रुपमा लिएको छैन ।

देउवा प्रधानमन्त्री हुँदा अमेरिकी उपमन्त्री तिब्बती शरणार्थी शिविरमा पुगिन् । चीनविरोधी गतिविधि बढेको भन्दै प्रश्नहरु उठ्न थाले ।



प्रतिक्रिया दिनुहोस्