Logo

बेलायतको प्रतिष्ठित विश्वविद्यालयमा नेपाली प्राध्यापक



काठमाडौं, ३० असार । बेलायतको प्रतिष्ठित युनिभर्सिटी कलेज लन्डनले नेपाली प्राध्यापक पाएको छ । विश्वमै अब्बल मानिएको उक्त विश्वविद्यालयमा नेपाली मूलका डा. तेजेन्द्र फेराली शिक्षा संकायमा प्राध्यापक भएका हुन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा सन् २००७ मा लन्डन पुगेका डा. फेराली सन् २०१३ देखि उक्त विश्वविद्यालयमा आबद्ध भएका थिए । उक्त विश्वविद्यालयमा प्राध्यापकको जिम्मेवारी पाउने उनी नेपालीमूलका पहिलो व्यक्ति हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेपछि फेरालीले सन् २००५ मा युनिभर्सिटी अफ सिड्नीबाट शिक्षामा स्नातकोत्तर उपाधि लिएका थिए । उनले सन् २०१२ मा लिभरपुल जोन मुरेस युनिभर्सिटीबाट विद्यावारिधि गरेका हुन् ।
“प्राध्यापक त्यसै पनि उच्च सम्मानको विषय हो, त्यसमा पनि विश्वकै उत्कृष्टमध्येको एक विश्वविद्यालयमा प्राध्यापक बन्न पाउनु पक्कै ठूलो साधना, योग्यता र प्रतिष्ठाको विषय हुनुपर्छ,” लन्डन निवासी नारायण गाउँलेले सामाजिक सञ्जालमा लेखेका छन्, “संसारभरिकै विश्वविद्यालयमध्ये निरन्तर उत्कृष्ट २० भित्र पर्दै आएको र दर्जनौं नोबल पुरस्कार विजेता जन्माएको युनिभर्सिटी कलेज शिक्षा क्षेत्रमा विश्वकै पहिलो नम्बरमा छ ।”
सन् १८२६ मा लन्डन युनिभर्सिटीको नाममा खुलेको उक्त विश्वविद्यालयमा महात्मा गान्धीदेखि रवीन्द्रनाथ टैगोरसम्म र वैज्ञानिक ग्राहम बेलदेखि पर्यावरण अभियन्ता डेभिड एटनबरोसम्मले पढेका थिए ।
“यो विश्वविद्यालयसँग नेपाली प्राध्यापकको नाम जोडिनु हामी सबैका लागि गर्वको विषय हो । तेजेन्द्रजीको प्राज्ञिक व्यक्तित्वबारे त थप बोल्नु परेन,” गाउँलेले भनेका छन्, “उहाँको साह्रै भद्र, नम्र र मिजासिलो स्वभाव अनि सघन सामाजिक व्यक्तित्व पनि उत्तिकै लोभलाग्दो छ ।”



प्रतिक्रिया दिनुहोस्