Logo

छ आयोजना सम्पन्न



काठमाडौँ,३० असार । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले बहुवर्षीय योजना अन्तर्गत ठेक्का खुलाएर निर्माण सम्पन्न गरेको ६ आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ । रु ६५ करोड ४७ लाख ६७ हजार २३५ को लागतमा प्रदेशको १ वटा पक्की पुल, ४ वटा झोलुङ्गे पुल र १५.५ किलोमिटर सडकखण्डको निर्माण सम्पन्न भएको हो ।

हेटौँडाको राप्ती नदीमा हेटौँडा ११ र १२ नम्बर वडा जोड्ने पुल समयभन्दा तीन महिना अगाडि नै निर्मण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त पुल २७ करोड ४६ लाख २० अजार २३३ रुपैयाँको लागतमा सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी मकवानपुरकै भीमफेदी कुलेखानी १५.५ किलोमिटर सडक खण्ड पनि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त सडक खण्डको लागत रकम रु ३५ करोड ३० लाख ६१ हजार ७८७ रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए । यसैगरी निर्देशनालयले ४ वटा झोलुङ्गे पुलको पनि निर्माण सम्पन्न गरेको छ । नुवाकोटको बेसीकठेरीमा तादी पाँच र पञ्चकन्या दुई जोड्ने झोलुङगे पुलको लागत एक करोड ५० लाख ७७ हजार ५८२ रहेको प्रवक्ता ओझाले जनाए । यस्तै नुवाकोटकै दुप्चेश्वर ३ र ४ जोड्ने बिमिरे माझगाऊँ झोलुङगे पुल रु ६४ लाख ८३ हजार १९० मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको उनले बताए ।

मकवानपुरको भीमफेदी ८ ईपा खोलामा रु ७६ लाख ३५ हजार ३११ को लागतमा झोलुङगे पुल निर्माण सम्पन्न भएको उनको भनाइ छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ मा रु ५५ लाख २४ हजार ४४३ को लागतमा झोलुङगे पुल निर्माण सम्पन्न भएर प्रयोगमा आएको प्रवक्ता ओझाले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्