Logo

उपसभामुख भएपछि पार्टी राजनीतिमा क्रियाशील हुन्नः पुष्पा भुसाल



काठमाडौं, ३१ असार । नेपाली कांग्रेसकी नेतृ एवं सांसद पुष्पा भुसालले उपसभामुखमा निर्वाचित भएपछि पार्टी राजनीतिमा क्रियाशील नहुने बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुसालले भनिन्, “उपसभामुख सवैधानिक पद हो । संसदमा उपसभामुखको तटस्थ भूमिका हुन्छ । दलहरुको सहमतिका आधारमा प्रभावकारी ढंगले सदन चलाउने हो । दलबाटै निर्वाचित भए पनि उपसभामुख भएपछि राजनीतिक रुपमा क्रियाशील नहुने प्रचलन छ । म पनि निर्वाचित भएपछि केन्द्रीय समितिको बैठक वा पार्टी कार्यक्रममा जान नहुने नैतिक परम्परामा बाँधिन्छु । मेरो केन्द्रीय सदस्य पद उपसभामुख रहुन्जेल स्थगित रहन्छ ।”
केही महिनापछि नै निर्वाचन हुँदै छ, छोटो अवधिका लागि उपसभामुख हुन तयार हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, “संविधान कार्यान्वयनका लागि पनि उपसभामुखको निर्वाचन आवश्यक थियो । अवधि छोटो छ । तर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनाका कारण मैले स्वीकार गरेकी हुँ ।”
उपसभामुखमा दुवै जना महिला उम्मेदवार हुनुहुन्छ, सहमति गरेको भए हुँदैनथ्यो भन्ने प्रश्नमा उनले थपिन्, “हामीले प्रतिपक्षसँग मिलेर जाऊँ भनेकै हो । तर प्रतिपक्ष तयार नभएपछि प्रतिस्पर्धा स्वाभाविक हो । यसलाई सहजतापूर्वक लिएका छौं ।”
कांग्रेसका जिम्मेवार पदाधिकारीले आआफ्नो दायित्वबोध गर्नुपर्ने पनि भुसालले औंल्याइन् । उनले भनिन्, “कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतन्त्र र जनताको अधिकारका निम्ति लडेको पार्टी हो । संगठनभित्र विचारमा विविधता हुन्छ तर कामका विभिन्नता हुनुहुन्न । निर्वाचनको पूर्वसन्ध्यामा गुट उपगुटले प्रभाव पार्नुहन्न । एकले अर्कालाई सम्मान गर्ने संस्कारले संगठनलाई बलियो बनाउँछ । अहिले पार्टी सामूहिक जिम्मेवारीमा चलेको छ । एकले अर्कालाई दोष देखाएर उम्किने अवस्था छैन ।”
फरक प्रसंगमा उनले प्रमुख प्रतिपक्ष नेकपा एमालेले भ्रष्टाचारका कुरा उठाउने र जनतामा भ्रम सिर्जना गर्ने तर पुष्टि गर्न नखोज्ने परिपाटी चलाएको आरोप पनि लगाइन् ।



प्रतिक्रिया दिनुहोस्