Logo

बाबुराम अब कता



काठमाडौं, ३१ असार । बाबुराम भट्टराई नेपाली राजनीतिमा पृथक परिचय बनाएका नेता हुन् । उनी पञ्चायतकालमा जनमोर्चामा थिए । बहुदल आएपछि प्रचण्ड नेतृत्वको माओवादीमा संलग्न भए ।

माओवादी जनयुद्ध सुरु हुनु अघि भएको भद्रकालीमा भएको धर्नामा थिए बाबुराम । २०५२ मा विभिन्न मागसहित बाबुरामको नेतृत्वको धर्नामा तत्कालीन विद्यार्थी नेता योगेश भट्टराईलगायतले आक्रमण गरेका थिए । शेरबहादुर देउवा त्यतिबेला प्रधानमन्त्री थिए । माओवादीका रणनीतिकार बनेर बाबुराम जनयुद्धमा होमिए ।

कट्टर कम्युनिस्ट बनेर बाबुराम दशक लामो जनयुद्धमा भूमिगत भए । वार्ताका लागि बेलाबखत सार्वजनिक पनि भए । पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बने । त्यसपछि माधवकुमार नेपाल बने । बाबुरामको भाग्योदय भयो । उनी पनि प्रधानमन्त्री बन्न सफल भए ।
माओवादी फुट्यो । बाबुराम प्रचण्डसँग नै रहे । पछि उनले माओवादी मात्र छाडेनन् कम्युनिस्ट सिद्धान्त नै परित्याग गरे । बाबुराम कट्टर कम्युनिस्ट विरोधी बने । नयाँ शक्ति पार्टी स्थापना गरे ।

२०७४ को चुनावमा बाबुरामको दलले प्रतिनिधि सभामा एक सिट मात्र जित्यो । बाबुराम उपेन्द्र यादवको दलसँग एकीकरण गर्न पुगे । संघीय समाजवादी पार्टी बन्यो । उक्त पार्टी फुटको संघारमा पुग्दा बचाउन राष्ट्रिय जनता पार्टीसँग एकीकरण भयो । त्यसपछि बनेको जनता समाजवादी पार्टीमा पनि विवाद चर्कियो ।

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई मिल्न सकेनन् । विवाद बढिरह्यो । अन्ततः दुवै अलग हुने निर्णयमा पुगे । बाबुरामले जसपामा पकड बनाउन खोजे तर बहुमत उनको पक्षमा भएन ।

महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, हिसिला यमीलगायत कार्यकारिणी सदस्य मात्र बाबुरामको पक्षमा उभिए । बाबुराम नयाँ दल बनाउने या अन्य शक्तिसँग मिल्ने भन्नेमा अलमलमा छन् । उनले प्रचण्डसँग एकताका लागि कम्युनिस्ट सिद्धान्त त्याग्नुपर्ने शर्त राखेका छन् । महन्थ ठाकुर नेतृत्वको लोसपासँग पनि मिल्ने कुरा आइरहेको छ । तर, बाबुराम पूर्वमाओवादीसँगै मिलेर जान खोजिरहेका छन् । उनले समाजवादी केन्द्रको प्रस्ताव राखेर नयाँ प्रयास थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot