Logo

विश्वराज पोखरेल प्रहरी मुख्यालय नफर्कने



काठमाडौं, ३१ असार । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेललाई कुनैबेला आइजीपीको सम्भावित मानिन्थ्यो । एसएसपी हुँदा आफ्नो ब्याचीबाट वरियतामा पहिलो नम्बरमा रहे देखि नै उनको सम्भावना बलियो मानिएको थियो ।

पोखरेल चलाख प्रहरी अधिकृत थिए । डिआइजी हुँदा अघिल्लो ब्याचीलाई उछिनेर एक्लै बढुवा पाए । दरबन्दी नै खडा गरी एआइजीमा पनि छलाङ मारे । तर, आइजीपी बन्दा लागेको ब्रेकपछि प्रहरीको पोशाक लगाएका छनन् ।

पोखरेल बिदा लिएर बसे । फेरि बिदा मागे तर स्वीकृती मिलेन । तर, उनी हाजिर भएनन् । सर्वोच्चमा उनले एउटा मुद्दा हालेका थिए जसमा आफूलाई आइजीपी बनाउनुपर्ने जिकिर गरेका थिए । आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयको खारेजीको माग गरेका थिए ।

पोखरेलको तर्क थियो एआइजीमा आफू वरिष्ठ भएको र वरिष्ठताका आधारमा आफू नै आइजीपी बन्न पाउनुपर्ने । तर, रिट खारेज भयो ।
एसएसपी, डिआइजी र एआइजी हुँदा मात्र पोखरेल वरियतामा अगाडि थिए । इन्स्पेक्टर, डिएसपी र एसपी हुँदा उनी धीरजप्रताप सिंहभन्दा वरियतामा पछाडि थिए । छलाङ त मारे तर निर्णायक घडीमा धक्का खाए ।

अब पोखरेलसामु प्रहरी मुख्यालय छिरेर आइतबार हाजिर गर्ने या राजीनामा दिनेबाहेक विकल्प छैन । उनी हाजिर हुन नमाने कारबाहीमा पनि पर्न सक्छन् । उनको बिदा स्वीकृत भएको छैन । यसै पनि उमेरहदका आधारमा २० साउनबाट पोखरेल सेवानिवृत्त हुनेछन् । यसकारण २० दिनका लागि उनी पदमा नबसी राजीनामा दिने निकट स्रोतले बताएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्