Logo

प्रचण्डको भारत भ्रमणमा शंका गर्ने ठाउँ छः एमाले नेता



काठमाडौं, १ साउन । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा शंका गर्ने ठाउँ रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “सामान्य अवस्थामा भारत भ्रमण भएको भए अन्यथा लिने ठाउँ थिएन । तर आन्तरिक मामिलासँग जोडिएकाले यो भ्रमणले प्रशस्त आशंका जन्मिएको छ । प्रचण्डको भारत भ्रमणको उचित समय पनि होइन, उचित एजेन्डा पनि छैन । उहाँको पृष्ठभूमि नै विवादास्पद छ ।”
नेपाली राजनीतिमा अस्थिरताको जड नै प्रचण्ड भएको आरोप पनि उनले लगाए । भट्टराईले भने, “नेपाली राजनीतिलाई स्थिरतातिर जान नदिने, अस्थिरताबाट फाइदा लिने र आफ्नो स्वार्थका लागि विदेशीको घोडा बन्ने प्रचण्डको प्रवृत्ति हो । आफ्ना कुकुर्म छोपेर अघि जान खोज्ने प्रचण्ड मुलुकका लागि दुर्भाग्य हुन् । उहाँको भारत भ्रमणले मुलुकमा थप हस्तक्षेप हुन्छ र आन्तरिक राजनीति गिजोलिने अवस्था आउन सक्छ ।”
वाम एकता सम्भावना कति छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “वाम एकताको कुरा गरिरहँदा त्यसको आधार के छ ? कांग्रेसको पुच्छर बनेर हिँड्ने, कांग्रेसलाई प्रधानमन्त्री बनाउने अनि निर्वाचनमा उसैलाई जिताउने अनि वाम एकता भन्ने ठाउँ छ र ? वाम एकता भन्ने नेताहरु नै कांग्रेसीकरण भएका छन् । अनि कसरी एकता हुन्छ ?”
चीनले भनेर वाम एकता नहुने पनि भट्टराईले स्पष्ट पारे । उनले भने, “चीनले भनेर हुने भए उहिल्यै एकता हुन्थ्यो । हामी कुनै मुलुकलाई धुरी मानेर एकता गर्ने पक्षमा छैनौं । नेकपा एमाले आफ्नै खुट्टामा उभिएर यहाँसम्म आइपुगेको पार्टी हो । हामी सानो हुँदा पनि एक्लै हिँडेका हौं । अब पनि एक्लै हिँड्न तयार छौं ।”
आफ्नो पार्टी शेरबहादुर देउवाको सरकार ढालेर सत्तामा आउने पक्षमा नरहेको पनि भट्टराईले दाबी गरे । उनले भने, “हामीले चाहेको भए एक वर्षसम्म कांग्रेसलाई सत्ता दिनुपर्ने स्थिति नै होइन । हामीसँग ९८ सिट थियो । ३५ सिट मिलाएको भए उहिले नै सरकार बनाइसक्थ्यौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै हामी झ्यालबाट होइन, ढोकाबाटै सरकारमा आउँछौं ।”

 



प्रतिक्रिया दिनुहोस्