Logo

कांग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रका पक्षमा नेतृत्व लिनुपर्छः भीम पराजुली



काठमाडौं, २ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रका पक्षमा नेतृत्व लिनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पराजुलीले भने, “नेपाल सनातन वैदिक धर्म र परम्परालाई मानेको देश हो । यसको संरक्षण र सम्बर्धन गर्ने जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्छ भनेर मैले पार्टीको केन्द्रीय समिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनुपर्छ भन्ने विचार उठाएको छु । यसले राष्ट्रियतालाई बलियो बनाउँछ, मुलुक र पार्टीको सर्वोपरि हित हुन्छ भन्ने आम नेपालीको आवाजलाई मैले एउटा पात्रका रुपमा मुखरित गरेको हुँ ।” उनले नेपाली कांग्रेसको अघिल्लो महासमिति बैठकमा आठ सय महासमिति सदस्यले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको पनि स्मरण गरे ।
साथै उनले मुलुकको आवश्यकता अनुसार गठबन्धनलाई अघि बढाउनुपर्ने पनि औंल्याए । पराजुलीले थपे, “मुलुकको सर्वोपरि हित, लोकतन्त्रको मजुबती अनि समृद्धि र विकासका लागि सबै पार्टी एकजुट हुनैपर्छ । नेपाली कांग्रेससँग गठबन्धन नगरीकन पनि चुनावमा जाने तागत छ । कांग्रेस एक्लै पनि जान सक्छ । तर मुलुकको आवश्यकता अनुसार पार्टीले उचित समयमा उचित निर्णय गर्छ ।”
पार्टी र सरकार शेरबहादुर देउवाको परिपक्व नेतृत्वमा अगाडि बढेको र कार्यकाल सफल रहेको पनि उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्