Logo

आरजु प्रधानमन्त्री र आफू राष्ट्रपति बनेर मुलुकलाई परिवारको कब्जामा राख्ने देउवाको रणनीति छः महेश बस्नेत



काठमाडौं, ३ साउन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको इसारामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन बनेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “पाँच दलीय गठबन्धन वैचारिक, सैद्धान्तिक आधारमा भन्दा पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको इसारामा भएको हो । प्रचण्डको भारत भ्रमण हेर्दा नेपाललाई शक्तिकेन्द्रको खेल मैदान बनाउने चाहना स्पष्ट देखिन्छ । दिल्लीमा प्रचण्ड र आरजु राणा आलोपालो प्रधानमन्त्री हुने सहमति भएको कुरा बाहिर आएको छ । झलनाथ खनाल, माधव नेपाल र रामचन्द्र पौडेललाई राष्ट्रपतिको घाँस हाल्ने तर आफै राष्ट्रपति बनेर मुलुक आफ्नो परिवारको कब्जामा राख्ने शेरबहादुर देउवाको  रणनीति छ ।”
पाँच दलीय गठबन्धन चुनाव अगाडि नै भंग हुने पनि बस्नेतले दाबी गरे । उनले थपे, “माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जसरी पनि कांग्रेस र एमालेको बहुमत पुग्न नदिने र आफू तेस्रो दल बनिरहने षडयन्त्रमा हुनुहुन्छ । परिवारवादको राजनीति गरेर आफ्ना छोरीज्वाइँ, बुहारीलाई अघि बढाउने रणनीतिमा हुनुहुन्छ । त्यसैले म पाँच दल लामो समय एकसाथ जाने देख्दिनँ । कांग्रेस र माओवादीबीच गठबन्धन भएको  स्थितिमा माधव नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसी अर्को गठबन्धनमा जाने खालको नयाँ समीकरण बन्न सक्छ ।”
नेकपा (एकीकृत समाजवादी) मा एमालेसँग सहकार्य र एकता गर्नुपर्छ भन्ने ठूलो पंक्ति तयार भएको पनि उनले दाबी गरे । एमाले नेता बस्नेतले भने, “उहाँहरुको दलमा गम्भीर समीक्षा भइरहेको छ । झलनाथ खनालले कांग्रेस र प्रचण्डलाई सहयोग पुग्ने गठबन्धन गल्ती हो भन्ने कुरा खुलेर राख्नुभएको छ । माधव नेपाल पनि एमालेविरुद्ध अभिव्यक्ति नदिने तहमा पुगेको देख्छु । त्यसैले नेकपा एमाले कत्ति पनि डराएका छैन । जनतालाई सचेत गराउँदैछ ।”
संघ र प्रदेशको निर्वाचन गराउनका लागि सर्वदलीय सरकार आवश्यक रहेको पनि बस्नेतले औंल्याए । उनले भने, “मंसिर २१ गते प्रतिनिधिसभाको समयावधि सकिन्छ । तर देउवा सरकारले चुनाव गराउने नैतिक आधार गुमाइसकेको छ । त्यसैले सबै दललाई समेटेर स्वच्छ निर्वाचन गराउने खालको सरकार बन्नुपर्छ भन्ने हाम्रो माग हो ।”



प्रतिक्रिया दिनुहोस्