Logo

बुस्टर डोज खोप अभियानलाई तीव्रता दिनुपर्छः डा. शेरबहादुर पुन



काठमाडौं, ३ साउन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले ओमिक्रोन भाइरसको नयाँ उपप्रजाति बीए.५ बाट मानवीय क्षति हुन नदिन बुस्टर डोज खोप अभियानलाई निरन्तरता र तीव्रता दिनुपर्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पुनले भने, कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिरहन्छ । विश्वका विभिन्न देशमा ओमिक्रोनको नयाँ उपप्रजाति बीए. ५ फैलिएको छ । तर ७० प्रतिशत जनसंख्याले दुई मात्रा लगाएपछि खोप अभियान सुस्ताएको छ । खासगरी बुस्टरमा धेरैले चासो दिएका छैनन् । अब बुस्टरलाई निरन्तरता र तीव्रता दिएर अस्पताल भर्ना हुने वा मृत्यु हुने अवस्था आउन दिनुहुन्न ।
खोप अभियान अघि बढाएको स्थितिमा पहिलेजस्तो मानवीय क्षति नहुने पनि डा. पुनले बताए । उनले थपे, “पहिलेजस्तो कडिकडाउ नभएको, नियमित दैनिकीमा फर्केको, मास्क अनिवार्य गरिएको र जनस्वास्थ्यका मापदण्ड पालना नभएकाले हिजो मात्र ४५७ जना संक्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । बुस्टर लगाएको स्थितिमा अस्पताल भर्ना हुँदैनन्, मर्दैनन् भन्ने छैन । तर तुलनात्मक रुपमा पहिलका लहरजस्तो भयावह हुने सम्भावना कम छ ।”
डा. पुनका अनुसार बीए.५ मा स्वाद वा गन्ध नहुने, घाँटी दुख्ने, हल्का ज्वरो आउने, नाकबाट पानी बग्ने, जीउ दुख्ने, पसिना आउने आदि समस्या देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्