Logo

भारतको सहयोगमा निर्माण भएको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको भवनको उद्घाटन



काठमाडौं, ३ साउन । भारतको अनुदान सहयोगमा निर्माण भएको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको उद्घाटन भएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटका लागि निर्मित शैक्षिक भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ४१ लाख नेपाली रुपैयाँको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा भवनको निर्माण भएको हो । परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्को साझेदार संस्थाको रुपमा रहेको संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि ९पशु विज्ञान० शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

इन्स्टिच्यूटले काठमाडौ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ । इन्स्टिच्यूटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ३० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्